रोल्पाली सेवा समाज कतारको बाडी-पहिरो पीडित तथा मानव सेवा आश्रम सहयोगार्थ साँस्कृतिक कार्यक्रम सम्पन्न-दोहामा रहेका संघ सस्थासङ्ग अध्यक्ष डांगीको गुनासो……

दोहा कतार – नेपालीहरुको महान पर्व बिजया दशमी शुभ तिहार एवं छ्टको अवसर पारेर रोल्पाली सेव समाज कतारले आयोजना गरेको बाडी-पहिरो पीडित तथा मानव सेवा आश्रम सहयोगार्थ दशैं तिहार तथा छट पर्व बिशेष साँस्कृतिक कार्यक्रम शुक्रबार सनैया स्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ ।

समाजका अध्यक्ष गोपाल डांगीको सभापतित्व, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई केही दिन अगाडि मात्र नेपालमा अविरल वर्षाको कारण आएको भीषण बाडी-पहिरोमा परि ज्यान गुमाउनेहरुको सम्झना गर्दै शोक सभा तथा श्रद्धाञ्जली र शुभकामना आदानप्रदान कार्यक्रम गरि दुई चरणमा विभाजन गरिएको थियो ।

शोक सभा कार्यक्रम समापन पछि विधिवत रुपमा व्यानर अनावरण सहित दिप प्रज्वलन गरि राष्ट्रिय गान बजाएर औपचारिक रुपमा सुरु भएको कार्यक्रममा समाजका बरिस्ठ उपाध्यक्ष दुर्गा बहादुर खड्काले स्वागत मन्तव्य राखेका थिए भने मानसिङ निर्दोष परियार, गुना मगर “निशु” चित्रा के.सी, रेश्मी सेन्चुरी, अमृत परियार, ख्याम भट्टराई लगायतका कलाकारहरुले उपस्थित सम्पुर्णलाई प्रत्येक्ष लाइभ स्वागत गीत र कलाकारद्वय अनुष्कृती तामाङ र माया के.सीले नृत्य मार्फत स्वागत गरेका थिए ।

कार्यक्रम भएको हलमा मध्यम खालको उपस्थिति देखिए पनि दोहामा स्थापित संघ सस्था, बैचारिक संस्था, नेपाली समाजले मान्दै आएका बिशिस्ट व्यक्तित्वहरु, समाजसेवी बुद्धिजीवीहरु, सामाजिक अभियान्ता एवं मिडियाकर्मी पत्रकारहरुको भने अपेक्षित उपस्थिति थिएन ।

दिउँसो करिब एक बजेबाट सुरु भइ साँझ ६ बजेसम्म चलेको कार्यक्रममा शुभकामना राख्ने अधिकांश वक्ताहरुले समाजले गरेको कार्यहरूको प्रशंसा गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए भने प्रमुख अतिथि भट्टले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदले कतारमा रहेका सबै संघ संस्थाहरु सङ्ग राम्रो सम्बन्ध बनाउदै र हरेक कार्यहरूमा सहकार्य गर्दै आएको बताए । उनले कतारमा कामको सिलसिलामा आएका र विभिन्न समस्यामा परेका नेपालीहरुलाई आवश्यक साथ सहयोग गर्दै आएको पनि बताए ।

भट्टले पछिल्लो समयमा राहदानी नवीकरणमा देखिएको समस्याको बिषयलाई सहज बनाउन दूतावास सङ्गको समन्वयमा समस्या सहज नहुने बेला सम्म हरेक शुक्रबार राहदानीको म्याद सकिएको र अनलाइन फारम भर्न नपाई समस्यामा परेकाहरुको लागी राहदानी नवीकरण सेवा उपलब्ध गराउको लागि पहल गर्ने बताउदै सबै नेपालीहरुलाई दशै तिहार तथा छट पर्वको शुभकामना व्यक्त गरेका छ्न ।

कार्यक्रम अवधिभर कतारमा रहेर साङ्गीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकारहरु “द एन.आर.एन सिङ्गर सिजन वान” की फाइनालिस्ट गायिका गुना मगर”निशु”, लोक तथा दोहोरी गायिका रेश्मी सेन्चुरी, सुरेश बि.सी, पदम सेन्चुरी, दिपक बि.सी सुमित्रा भट्टराई, अमृत परियार लगायतका कलाकारले आ-आफ्नो साँङ्गीतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए भने साहित्यकारद्वय शोभाराम ओलि र पुर्ण कान्छा गुरुङले गजल तथा मुक्तक वाचन गरेर सुनाएका थिए ।

कार्यक्रमको अन्तमा सभापति डांगीले कार्यक्रममा संघ संस्थाको उपस्तिथि र साथ सहयोगको बारेमा असन्तुष्ट व्यक्त गरेका थिए । उनले रोल्पाली सेवा समाज हरेक संघ संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै सहकार्य गर्दै आएको भए ता पनि रोल्पाले गर्ने कार्यक्रमहरुमा ती संस्थाहरु उपस्थिती नहुने गरेकोमा गुनासो गरे ।

समाजका महासचिव केशर बहादुर खनाल र सचिव सुजाता डि.सीले मिलेर सहजीकरण गरेका कार्यक्रममा डांगीले थप बोल्दै कार्यक्रमको लागि प्राय सबै संघ संस्थाका प्रमुखहरुलाई आफैले फोन गरेर उपस्तिथिको लागी अनुरोध गरेको स्मरण गर्दै आफ्नो निमन्त्रणालाई बेवास्ता गरेकोमा दु:ख लागेको बताए । यो पटक पनि रोल्पाली सेवा समाजले पुर्व तयारी अनुरुप दशैं तिहार तथा छट पर्व बिशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेको भए पनि पछी थोरै भए पनि राहत हुन्छ भन्ने उद्देश्यका साथ केही संघ संस्था र बिशेष ब्यक्तिहरुको सल्लाह र समन्वय अनुसार नै नेपालमा वर्षाको कारण आएको बाडी पहिरो पीडित र मानव सेवा आश्रमको सहयोगार्थ आयोजना गरिएको कार्यक्रमलाई तिनै संघ संस्था तथा ब्यक्तिहरुले नै किन यसरी अपहेलना गरे भन्ने कुरा आफैले नबुझेको बताए ।

उनले अन्तमा कार्यक्रम लाई सफल बनाउनको लागी आफ्नो अमुल्य समय दिएर उपस्थित हुने र कार्यक्रम तयारीको लागि खट्ने कार्यसमिति सदस्यहरु लगायत सम्पुर्ण महानुभावहरुलाई धन्यवाद सहित दशैं तिहार तथा छट पर्वको शुभकामना दिएका थिए भने कार्यक्रममा प्रस्तुति दिने सबै कलाकार तथा साहित्यकारहरुलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा भाग्यशाली उपहार पनि समाबेश गरिएको थियो जस्को पहिलो पुरस्कार (आधा तोला सुन) लमजुङका कल्याण थापाले जितेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्टलाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

सम्बन्धित समाचार