राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले विदेशीको पैसाको आडमा चुनाव जितेर देशलाई ववार्द गर्न खोज्ने नेताहरुलाई हराउनुपर्नेमा जोड दिनुभएको छ । राप्रपा भरतपुर महानगर समितिले भरतपुरमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै पूर्वमन्त्री पाण्डेले युरोपियन युनियन र छिमेकी राष्ट्रबाट पैसा ल्याएर चुनाव जित्ने दाउमा लागेका नेताहरुलाई जनताले रोक्नुपर्ने बताउनुभयो ।
उहाँले देशलाई प्लटिङ गरेर देशलाई विदेशमा बुझाउने षड्यन्त्र भएको बताउनुभयो । “उत्तर उत्तरतिरै मिल्ने, दक्षिण दक्षिणतिरै मिलेर अन्तत नेपाल युक्रेन जस्तो हुने जोखिम छ”, उहाँले भन्नुभयो, “विदेशीको इशारामा चल्ने नेताले जिते देश झनै बर्बाद हुनेछ ।
देशलाई बाँडीचुँढी उपयोग गर्न गठबन्धन गरेर सिट बाँडफाडमा लागेको अरोप लगाउनुभयो । उहाँले अमेरिकन बुट आइसकेकाले वैदेशिक हस्तक्षेप बढेको बताउनुभयो । उहाँले देशलाई जोगाउन अब जनता जागरुक बन्नुपर्नेमा जोड दिनुभयो ।
विषालु हात लिएर देशलाई सिध्याउन लागेका नेताहरुलाई जनताले अब फेरी जिताउन नहुने बताउनुभयो । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष राजन गौतमले संघीयताले वेथिति र राज्यको खर्च बढाएकाले अब खारेज हुनुपर्ने बताउनुभयो ।
२०४६ सालयता देशले विकासमा फड्को मार्न नसकेकोमा दुखेसो पोख्नुभयो । इस्कोन नेपाल चितवनका सचिव गौरगोविन्द प्रभुले हिन्दुराष्ट्र निर्माणमा लाग्ने स्पष्ट विधान भएका दलहरुलाई जनताले रोज्ने बेला आएको बताउनुभयो । उहाँले विद्यालयतहबाट संस्कृति शिक्षा खारेजीसँगै हिन्दुधर्ममाथि प्रहार सुरु भएको बताउनुभयो ।
गंगाआरती समितिका संयोजक प्रेमनिधि भारद्धाजले सनातन धर्म संरक्षणका लागि सत्याग्रह गर्नुपर्ने स्थिति आएको बताउनुभयो । पृथ्वीनारायण शाह स्मृति प्रतिष्ठान चितवनका अध्यक्ष मोहनविक्रम शाहले सदनबाटै हिन्दुराष्ट्रबारे आवाज बुलन्द पार्नुपर्नेमा जोड दिनुभयो ।
कांग्रेस नेता तारा पौडेलले हिन्दुराष्ट्रको पक्षमा जनमत बढेकाले त्यसको शक्तिलाई प्रयोग गरेर देशको पहिचान स्थापित गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा राप्रपा चितवनका उपाध्यक्ष चेतनाथ वाग्ले, जीवलाल पुरी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम राप्रपा महानगर समिति अध्यक्ष दिपक थापाको अध्यक्षतामा भएको हो ।
प्रतिक्रिया दिनुहोस्