हिमालय लोकस्टारको होस्टमा प्रकास सपुत

अन्ततः प्रकास सपूतले टेलिभिजन रियलिटी शो सञ्चालन गर्ने भएका छन् । हिमालय टेलिभिजनबाट प्रशारण हुन लागेको ‘हिमालय लोकस्टार सिजन २’बाट उनी सञ्चालकको रुपमा देखापर्नेछन् ।

 

हिमालय टेलिभिजनले निर्माण तथा प्रसारण गर्ने लोकस्टार नेपालको मौलिक रियलिटी शो हो । अहिले यसको निर्माण धमाधम भइरहेको हिमालय टेलिभिजनले जनाएको छ ।

 

पछिल्लो समयका सर्वाधिक चर्चित गायक हुन्, प्रकास । ‘बोल माया’ गीतबाट एकाएक लोकप्रिय बनेका प्रकासले त्यसपछि जतिपनि गीत सिर्जना गरेका छन्, ती सबैले समाजलाई तरंगित बनाएको छ । प्रेम र वियोगका माधुर्य भाका मात्र होइन, उनले त्यसभित्र सामाजिक विभेद, उत्पिडन, छलकपट, राजनीति जस्ता मुद्दालाई पेचिलो ढंगले समिश्रण गर्ने गरेका छन् । सोही कारण प्रकासले सिर्जना गरेका गीत-संगीतले हरेक पटक नयाँ नयाँ वहस सिर्जना गरिरहेका छन् । मेरो पनि हैन र यो देश, बदला बरि लै, कुरा बुझ्नु पर्छ, पीर जस्ता उनका संगीत सिर्जना अत्याधिक रुचाइएको छ ।

 

उनै प्रकास यसपाली भने सांगीतिक रियालिटी शोबाट सञ्चालकका रुपमा पर्दापण हुने भएका हुन् । उनलाई मञ्चमा अर्की महिला सञ्चालकले साथ दिनेछन् । यद्यपि उक्त सञ्चालकको नाम भने निर्माण समूहले अहिलेसम्म खुलाएका छैनन् ।

 

कार्यक्रममा चर्चित लोकगायक कुमार बस्नेत, रामजी खाँड, ज्योती मगर र कुलेन्द्र बिश्वकर्मा निर्णयकको रुपमा रहेका छन् । चर्चित संगीत संयोजक एवं संगीतकार आशिष अबिरल संगीत निर्देशकका रुपमा रहेका छन् । कार्यक्रमलाई शिमोस सुनुवारले निर्देशन गर्दैछन् ।

 

३० भागको यो रियालिटी शोमा डिजिटल अडिसनमार्फत हजारौ प्रतिभाहरुले आवेदन दिएको र फिजिकल अडिसनमा सहभागीहुने प्रतिभाको समेत छनौट भइसकेको छ ।

 

हिमालय लोकस्टार–२ हिमालय टेलिभिजनमा हरेक मंगलबार र बुधबार राती ८ बजे प्रशारण हुने तय भएको छ । कार्यक्रमका विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने हिमालय टेलिभिजनले जनाएको छ । मौलिक कला, संस्कृतिको जगेर्ना गर्ने उदेश्यले यस कार्यक्रमको खाका तयार गरिएको बताइन्छ ।

सम्बन्धित समाचार