कुलमान पढेको विद्यालयमा पुगेर वर्षमानले बिताए एक घण्टा ! आखिर एक घण्टासम्म के भने त वर्षमान ले ?

 

काठमाडौं – माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन रामेछापको बेथानमा तत्कालीन शाही नेपाली सेनाले नियन्त्रणमा लिएर २१ जनाको हत्या गरेको घटनाको स्मृति दिवसमा आयोजित कार्यक्रममा सहभागी भएर गत बुधबार काठमाडौं र्फकंदै थिए ।

बेथानबाट सिन्धुलीको नेपालथोक झरेर काठमाडौं र्फकने क्रममा बाटोमा पर्ने सुनापति गाउँपालिका कार्यालयमा बसेर पुनले जनप्रतिनिधि र पार्टीका स्थानीय नेताहरुसँग अन्तरक्रिया गरे ।

सोही क्रममा गाउँपालिका अध्यक्ष धावा लामाले आफ्नो पालिकाको वडा नम्बर-४ मा रहेको डहू माध्यमिक विद्यालय एसईई परीक्षामा सामुदायिक विद्यालयमध्ये देशभरकै उत्कृष्ट भएको दाबी गरे ।

उक्त विद्यालयका प्रतीक तामाङ र राजु तामाङले एसईईमा उत्कृष्ट ४ जीपीए ल्याएर उत्तीर्ण भएको जानकारी अध्यक्ष लामाले गराए । लामाको कुरा सुनेपछि उत्साहित भएका पुनले समयको दबाबका बीच विद्यालय भ्रमण गर्ने इच्छा राखे ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको गाउँ पनि हो डहू । घिसिङले सोही विद्यालयमा कक्षा ७ सम्म अध्ययन गरेका थिए । सोही विद्यालयमा पुनले करिब एक घण्टा बिताए ।

पुन डहु मावि पुग्दा विद्यार्थीहरु नियमित प्रार्थनाका लागि लामबद्ध थिए । एक छात्राले खरर अंग्रेजीमा पाहुनाको स्वागतमा भाषण गरिन् । त्यति नै बेला प्रधानाध्यापक दलबहादुर बलले पुनलाई केही कुरा राखिदिन अनुरोध गरे ।

पुनले आजभन्दा २० वर्षअघि ०५९ सालमा कामका सिलसिलामा रामेछाप आएको स्मरण गरेर मन्तव्य सुरु गरे ।

पुनको मन्तव्य यस्तो थियो :

मैले सुनें यस विद्यालयबाट ७९ जना इन्जिनियर, ८/१० जना डाक्टर, अरु आ-आफ्ना क्षेत्रका विशिष्ट व्यक्तित्वहरु उत्पादन हुनुभएको छ । विद्यालयले सभ्य र अनुशासित नागरिक उत्पादन गरेको छ ।

कोही किसान हुन सक्छ, कोही व्यापारी हुन सक्छ । जुन क्षेत्रमा गए पनि अनुशासित नागरिक उत्पादन गर्ने विद्यालयको उद्देश्य सफल भएको मैले ठानेको छु ।

म रोल्पाको मान्छे । म तपाईंहरु जस्तै सानो थिएँ । ४५ वर्ष पहिला रोल्पाको गाउँमा नजिक विद्यालय थिएन । सबैभन्दा नजिकको विद्यालय भनेको डेढ घण्टा हिँडेर जानुपर्थ्यो ।
खाली खुट्टा हिंडेरै विद्यालय जान्थें ।

आफ्नो इतिहास फर्किएर हेर्दा मिहिनेत गर्यो भने र आकांक्षा राख्यो भने सामान्य विद्यालयमा पढेको सामान्य गाउँको किसानको छोरा पनि राज्य सञ्चालनको नीति निर्माण तहमा पुग्दो रहेछ भन्ने मेरो आफ्नै अनुभवले बताउँछ ।

तपाईंहरु यहाँ हुनुहुन्छ । भोलि देशको राष्ट्रपति/प्रधानमन्त्री हुने, सभामुख हुने, प्रधानन्यायाधीश हुने, मन्त्री हुने, राम्रो डाक्टर हुने, राम्रो इन्जिनियर हुने, राम्रो प्रशासक हुने, राम्रो किसान हुने, राम्रो उद्योगी र व्यवसायी हुने तपाईंहरु नै हो ।

आकांक्षा राख्दा र आकांक्षा पुरा गर्न मिहेनत गर्दा त्यो सम्भव छ गर्न, सकिन्छ । आज तपाईंहरु सानै हुनुहुन्छ । भोलि तपाईंहरु देशको र समाजको नेतृत्व गर्ने व्यक्ति हो ।

म विद्यालय पढ्दा देशमा पञ्चायती शासन थियो । अहिको जस्तो खुला समाज थिएन । अहिले हामी जम्मा भएजसरी जम्मा हुने, राजनीति र भाषण गर्न पाइँदैनथ्यो । यस्तो स्वतन्त्र वातावरण थिएन ।

त्यतिखेर एक जना पञ्चायती मन्त्री रोल्पा आउनुभएको थियो । मन्त्री जिल्लामा जाँदा मन्त्रीले के खाँदा रहेछन् ? कसरी खाँदा रहेछन् ? के लगाउँदा रहेछन् ? कसरी बस्ने रहेछन् ? र कसरी बोल्ने रहेछन् ? भनेर साथीहरुसँगै हेर्न गएको थिएँ ।

पछि म अर्थमन्त्री भएँ, ऊर्जा, जलस्रोत र सिंचाइमन्त्री भएँ, शान्तिमन्त्री भएँ । आज आफैं पूर्वमन्त्रीका रुपमा तपाईंहरुको अगाडि उभिँदा मलाई आज मलाई ४० वर्ष अगाडि दौडिंदै मन्त्री हेर्न गएको त्यो दिनको सम्झना आइरहेको छ ।

भोलिको समाजको जिम्मा तपाईंहरुकै काँधमा छ । ओनसरी घर्ती नेपालको पहिलो महिला सभामुख हुनुहुन्छ । नेपालको पहिलो महिला सभामुख भनेर तपाईंहरुले सामाजिक शिक्षामा पढ्ने गरेको ओनसरी घर्ती यहीं हुनुहुन्छ ।

उहाँ तपाईंहरुजस्तै सामान्य परिवारको हुनुहुन्छ । बिना चप्पल, खाली खुट्टा विद्यालय गएर पढेको मान्छे हो । ड्रेस पनि राम्रो हुँदैनथ्यो । साँझ-बिहान घरको काम गरेर सरकारी विद्यालयमै पढेको मान्छे सभामुख हुनुभयो ।

त्यो पनि नेपालकै पहिलो महिला सभामुख । तपाईंहरु पनि भोलि सभामुख बन्ने सम्भावना छ । देशको राष्ट्रपति अहिले महिला हुनुहुन्छ । कुनै बेला प्रधानन्यायाधीश महिला हुनुहुन्थ्यो ।

हिजो अर्काको घरमा जाने छोरी पढाउनु हुँदैन भन्ने थियो । बुबा-आमाले छोरी पढाउन कम खर्च गर्थे । तर, आज छोरीहरु राष्ट्रपति हुने, सभामुख हुने, प्रधानन्यायाधीश, मन्त्री, असल प्रशासक, राम्रो उद्यमी भएर गाउँमै रोजगारीको अवसर श्रृजना गर्ने, देश चलाउने काममा संलग्न हुनुहुन्छ ।

छोरा र छोरी समान हो । समाजले छोरा र छोरीमा भेदभाव गर्दैन । अहिले देशमा नयाँ व्यवस्था छ । यो व्यवस्था ल्याउन हामीले धेरै ठूलो संघर्ष र बलिदान गरेका हौं ।

अहिलेको व्यवस्थामा छोरीहरुको इज्जत छ । सम्मान छ अवसर छ । तपाईंहरु पनि मिहिनेत गर्नुस्, कुनै दिन अवश्य सफल हुनुहुनेछ । यो विद्यालयका लागि मेरो तर्फबाट गर्ने सहयोग र शुभेच्छा सधैं रहने छ ।

सम्बन्धित समाचार