विबिक लामा भन्छन् : वास्तविक सुकुमबासीलाई टेक्ने ठाउँ छैन, अथाह सम्पतिको मालिकको सार्वजनिक स्थानमा रजाइ

रामेछाप जिल्लाको साबिक खाँडादेवी गाविसको पहिचान बोकेको ठाउँ हो गाल्पा बजार | यस ठाउँबाट पुर्व तिर हेर्यो भने रामेछापको अधिकांश ठाउँ देखिन्छ भने पश्चिमतिर हेर्यो भने रामेछापको केहि भाग र काभ्रेको केहि भाग हुँदै रमणीय हिम शिखर देखिन्छ |

चैत बैशाखमा पनि चिसो हावा पानी र स्वच्छ वातावारणले भरिपूर्णयुक्त यस बजारको विशेषता हो | वर्षायाममा हुस्सुले नजिकैको बस्तु पनि ठम्याउन गाह्रो हुन्छ भने जब हिउँद महिना आउँछ तब मनै हलुङ्गो बनाउने दृश्यहरु यस ठाउँबाट अवलोकन गर्न सकिन्छ | यो बजार सबैभन्दा पुरानो बजार हो |

यस ठाउँमा हरेक महिनाको १ गते र १५ गते गरि महिनाको दुइ पटक बजार लाग्थ्यो | वरिपरीका किसानहरु आफुले उब्जाएको फलफुल तरकारी यस बजारमा ल्याएर बिक्रि गरिन्थ्यो र घरमा चाहिने चिज लगेर गइन्थ्यो | यस ठाउँमा बजार लाग्ने बेला बंगुर र भैसीको मासु अत्याधिक रुपमा बिक्रि हुन्थ्यो | गाउँ घरमा मासु मंस पाइएन भने गाल्पाको जात्रामा गएर खान्छु भन्ने चलन थियो |

यस ठाउँको महत्व २०४६ साल पछी अलि बढेको देखिन्छ | २०४६ सालको उथलपुथलकारी आन्दोलनले सबै राजनीतिक दल खुल्ला भयो, सबै जसो राजनीतिक दलको कार्यक्रम १ गते या १५ गते राख्ने गरिन्थ्यो | १ गते र १५ गते राख्नुको कारण चाही बजार हेर्न आउने मान्छेलाई मध्यनजर गर्दै कार्यक्रम राखिन्थ्यो | अहिले यस ठाउँमा ३ वर्ष जति भयो बजार नलागेको |

बजार नलाग्ने कारण विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोनाको कारण | यो ठाउँ साबिकको दिमी पोखरी गाविस र खाँडादेवी गाविसको सिमानामा पर्छ | यस ठाउँको लागि विवाद पनि नभएको होइन | दिमी पोखरी गाविस र खाँडादेवी गाविस मध्ये कसको हो भन्ने विषयमा बेला बेलामा विवाद भइ रहन्थ्यो | देशमा बहुदलीय व्यवस्था आएपछि यो विवाद मिलाउन राजनीतिक दलका व्यक्तिहरु बसेर पानी जहाँ देखि बग्छ त्यहाँ देखि आ आफ्नो गरौ भन्ने सर्तमा विवाद टुंग्याएको बुझिन्छ | २०७४ सालको स्थानीय निर्वाचन पछी स्थानीय संरचना बन्यो, त्यसपछि पनि विवाद नै भयो |

साविकको दिमी पोखरी गाविस सुनापति गाउँ पालिका अन्तर्गत पर्यो भने साविकको खाँडादेवी गाविस खाँडादेवी गाउँ पालिकामा पर्यो | दुवै गाउँ पालिकाको प्रमुख प्रेम तामाङ्ग र धावा तामाङ्गको रोहवरमा विवाद मिलाएको बुझिन्छ |

यो जग्गा सरकारको स्वामित्वमा रहेको जग्गा हो | यहाँ बनाइएका घर टहराहरु अनधिकृत ढंगले बनाएको छ | खासमा भन्नुपर्दा सरकारको स्वामित्वमा रहेको खालि जग्गा घरवारविहीन, जग्गा जमिन विहिन, सुकुम्बासी र पिछडिएको वर्गले भोग चलन गर्न पाउनु पर्ने हो तर, यहाँ त्यस्तो छैन |

यहाँ बस्ने मान्छेहरु बिभिन्न दलका ख्याती प्राप्त नेताहरु मात्र बसिन्छ | वडा अध्यक्ष देखि स्कुलका प्रधानाध्यापक र ठुलठुला व्यापारीहरु सम्म | एकाध मान्छे होला सामान्य | यहाँ बनेको घर टहरा मध्ये नौ ओटा घर मात्र लालपुर्जा भएको बुझिन्छ | त्यो पनि २०५६\५७ सालतिर केहि टाठाबाठाहरुले मालपोतको हाकिमलाई घुस ख्वाएर दर्ता गराएर व्यक्तिको नाममा ल्याएको बुझिन्छ | २०३२ साल भन्दा पछी नापी कार्यालयबाट कुनैपनि सरकारी जग्गा व्यक्तिको नाममा कित्ता काटेर दिएको छैन जबकी त्यस ठाउँमा कसरी व्यक्तिको नाममा दर्ता भयो ? त्यहाँ ठुलै रकमको चलखेल भएको अनुमान लगाउन सकिन्छ | त्यहि बजारकै नजिक २०४८ सालमा संयुक्त जनमोर्चा बाट सांसद भएका कमल चौलागाईको १४ रोपनी पाखा जमिन पनि छ |

केहि मात्र व्यक्तिको किनेको बाँकी चाही सरकारी जग्गा आफ्नो नाममा गरेर लिएर आएको स्थानिय जनता बताउँछन् | केहि समय अगाडी सम्म ढुंगा माटोले मात्र बनाएको टहरो छाप्रोहरु अहिले गगनचुम्बी महलमा परिणत भएको छ | २०६२\ ६३ को आन्दोलन पछी त त्यहाँ ब्रम्हलुट नै मचियो | माओवादी शान्तिप्रक्रिया आएपछि सबै माओवादी भए, त्यहि आँटमा मिल्ने जति सबै भाग लगाएर प्रति घडेरी दस हजारको दरले बिक्रि गर्दै शहरमा आएर महँगा महँगा घडेरी पो किन्न थाले | सोझासिधा जनता हेर्याहेर्यै भयो |

वास्तविक सुकुम्वासीलाई एक हात जग्गा पाएनन् तर, अथाह जग्गा जमिनको मालिकले भने बिना रोकटोक मज्जाले पाएँ | के खाँडादेवी र दिमी पोखरीमा केहि नभएका सुकुम्बासी छैनन् ? के सुकुम्बासी समस्या हल भएकै हो त ? यदि राज्यको डाटामा सुकुम्बासीको नाम छैन भने जनताले दिनेछ वास्तविक सुकुम्बासीको नाम | झन् गज्जबको कुरो त के छ भने झ्याम्पल नामको व्यक्ति आफ्नै पुर्ख्यौली सम्पत्तिमा खनजोत गर्दै खाइरहेको थियो | उसको दाजुभाई कोहि रामेछाप मै कोहि सिन्धुली वर्दिवास तिर बसाइ सरेर गएको रहेछ | उमेर पुगेपछि झ्याम्पलको मृत्यु भयो, झ्याम्पलको मृत्यु पश्चात झ्याम्पलको नाममा तिन रोपनी जग्गा पास गरेर ल्याएछ | नामसारी गर्ने बेला नक्कली झ्याम्पलको छोरा बनाएर ल्याएछ |

अहिले त्यो जग्गा आना आना छुट्ट्याउँदै बेच्दै निवर्तमान वडाध्यक्ष, वर्तमान वडाध्यक्ष र केहि टाठाबाठाको मिलिभगतमा काले काले मिलेर खाउँ भाले भने जस्तै गरि बेच्दैछ भन्ने सुनिन्छ | नेपालीमा एउटा प्रचलित उखान छनि, बोल्नेको कुहिएको पिठो पनि बिक्ने, नबोल्नेको बासमती चामल पनि नबिक्ने | हो आज केहि सिमित बोल्नेहरूले गर्दा लाखौ नबोल्ने हरुलाई ओझेलमा पारिएका छन् | वास्तविक सुकुम्बासी झन् सुकुम्बासी बनिरहेको छ भने हुकुमबासीहरु अनेक हर्कत गर्दै झन् नव सामन्त बनिरहेको छ |

एउटा कुरा चाही के कुरा हेक्का रहोस भने जनता सधै लाटो र सोझो भएर बस्दैनन्, एक दिन न एक दिन पक्कै बुझ्नेछन् र त्यतिबेला नव सामन्तहरु पनि झोला तुम्बा बोकेर हिड्ने दिन न आओस् | समय अझै बाँकी छ बेलैमा बुद्धि पलाओस |पृथ्वी गोलो छ, त्यो गोलो पृथ्वी घुमिरहन्छ | त्यतिबेला को कहाँ पुग्छ थाहा हुँदैन |

 

रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका वडा नं ७ थान्सिङ बिवेक लामा

सम्बन्धित समाचार