सुनसरी – समूहमा आएका महिलाहरुको कुटपीटबाट मृत्यु भएकी धरान १३ की उषा राईको पक्षमा न्याय माग्दै धरानमा महिलाहरुले प्रदर्शन गरेका छन् ।
महिलाहरुले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी विभाग र इलाका प्रहरी कार्यालय धरानअघि नाराबाजी गरेका हुन् । नाराबाजी गर्दै महिलाहरुले आरोपित सबैलाई पक्राउ गर्न माग गरेका छन् ।
प्रहरीले मुख्य आरोपी उर्मिला राईलाई पक्राउ गरेको छ । उनका श्रीमान् गोविन्द राईसहित कुटपिटमा सम्लग्न सबैलाई पक्राउ गरिनुपर्ने आन्दोलनकारी महिलाहरुको माग छ । उर्मिला राईको नेतृत्वमा गएर एउटा समूहले एकल महिला माथि कुटपिट गरेको आरोप छ ।
कुटपिट भएको भिडियो समेत सामाजिक सन्जालमा भाइरल भएको छ । आमा समूहकी पूर्व अध्यक्षसमेत कुटपिटमा संलग्न भएकाले आमा समूहको बदनाम भएको जनजागृति आमा समूहकी अध्यक्ष निर्मला तिम्सिनाको भनाइ छ ।
समूहले पत्रकार सम्मेलन गर्दै घटनामा आमा समूहको सम्लग्नता नरहेको स्पष्ट पारेको छ । आमा समूहका नाममा महिलामाथि नै भौतिक आक्रमण र हिंसा हुँदै आएको स्थानीयबासिन्दाको आरोप छ ।
आन्दोलनरत महिलाहरुले आमा समूहलाई खारेज गर्न माग गर्दै नाराबाजी गरेका छन् । स्थानीयका अनुसार मृतक उषामाथि आमा समूहको नाममा कात्तिक ३ गते महिलाहरुको एक समूहले कुटपिट गरेको थियो ।
कुटपिटपछि घाइते उनलाई तत्काल बिपी प्रतिष्ठान धरानको सघन कक्षमा उपचारका लागि पुर्याइएको थियो । उपचारपछि डिस्चार्ज गरिएको उषाको स्वास्थ्य अवस्था मंसिर ६ गते पुनः बिग्रिएको थियो ।
अस्वस्थ भई अस्पताल भर्ना भएकी उषाको हप्तादिनपछि मृत्यु भएको थियो । अहिले उनको शव बिपी प्रतिष्ठानको मर्चरीमा राखिएको छ । आरोपी पक्राउ नगरी पोस्टमार्टम नगर्ने परिवारले अडान लिंदै आएका छन् ।
आरोपीको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए । मृतक उषाका श्रीमानको दुई वर्ष अघि मृत्यु भएको थियो । उनका दुई छोरी छन् ।
धरान १३ मा डेरा गरी बस्ने उषा सिलाइबुनाइ पेशा गर्दै जीविकोपार्जन गर्दै आएकी थिइन् ।
https://youtu.be/b5w-fn_2ZCw
प्रतिक्रिया दिनुहोस्