फिफा विश्वकप: मोरक्को पहिलो पटक अन्तिम आठमा,शुक्रबारदेखि क्वाटरफाइनलको खेलहारु हुने,

प्रकाश दर्नाल’शितल’

 

दोहा, कतार : मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको राउन्ड अफ १६ को खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० गोल अन्तरले हराउँदै मोरक्को विश्वकपमा पहिलो पटक अन्तिम आठमा पुगेको हो ।

 

एजुकेसन सिटी स्टेडियममा भएको खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समय पनि गोल रहित बराबरीमा सकिएपछि खेल पेनाल्टीसुटआउटमा गएको थियो ।

 

पेनाल्टीमा मोरक्कोका अब्देलहामिद सबिरी, हाकिम जिएच र अच्राफ हाकिमीले गोल गरे । बदर बेनोनकोपेनाल्टी प्रहार स्पेनका गोलकिपर युनाई सिमोनले रोके । पेनाल्टीमा स्पेनका पाब्लो सराबिया, कार्लोस सोलेर र सर्जियो बुस्केट्स गोल गर्न असफल भए । सराबियाको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो भने सोलेर र बुस्केट्सको प्रहार मोरक्कोका गोलकिपर यासिनलेरोकेका थिए ।

 

मोरक्को क्वाटरफाइनल पुग्ने चौथो अफ्रिकन राष्ट्र बन्दा पूर्व विजेता स्पेन प्रतियोगिताबाट बाहिरिएको छ ।

 

त्यस्तै मंगलबार राति लुसेल स्टेडियममा भएको अर्को खेलमा पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्विट्जरल्यान्डलाई ६-१ गोल अन्तरले हराउँदै पोर्चुगल अन्तिम आठमा पुगेको हो ।

 

पोर्चुगलको जितमा गोन्कालो रामोसले ह्याट्रिक गरे भने पेपे, राफायल गुइरेरो रराफायल लियोले एक एक गोल थपे । स्विट्जरल्यान्डका मानुएल एकान्जीले एक गोल फर्काए । खेलको १७ औँ मिनेटमा जोआफेलिक्सको पासमा रामोसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३३ औँ मिनेटमा ब्रुनो फर्नान्डेसकोपासमा पेपेले, ५१ औँ मिनेटमा डिएगो डालोटको पासमा रामोसले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३-० ले अग्रता दिलाए ।

 

त्यस्तै खेलको ५५ औँ मिनेटमा रामोसको पासमा राफायलले गोल गर्दै पोर्चुगललाई ४-० को अग्रता दिलाए ५८ औँ मिनेटमा एकान्जीले गोल गर्दै स्विट्जरल्यान्डलाई ४-१ को स्थितिमा ल्याए । खेलको ६७ औँ मिनेटमा २१ वर्षीय रोमासले जोआ फेलिक्सको पासमा व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पूरा गर्दै पोर्चुगललाई ५-१ को अग्रता दिलाए । उनी कतार विश्वकपमा ह्याट्रिक गर्ने पहिलो र पोर्चुगलका लागि समेत यो उनको पहिलो ह्याट्रिक बन्यो।

 

खेलको ८७ औ मिनेटमा मैदान छिरेका लियोले गोल गर्दै पोर्चुगललाई ६-१ को सानदार जित दिलाए । अब पोर्चुगलले क्वाटरफाइनलमा मोरक्कोसँग खेल्नेछ । जापान,कोरिया रिपब्लिक,स्पेन र स्विट्जरल्यान्डको भने २२औं संस्करणको विश्वकप यात्रा राउन्ड १६ बाटै टुङ्गिएको छ।

 

सम्बन्धित समाचार