फिफा बिश्वकप २०२२ को उपाधिको लागि आइतबार राती फ्रान्स र अर्जेन्टिना भिड्दै…

प्रकाश दर्नाल’शितल’

दोहा कतार : साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २-० गोल अन्तरले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो ।

 

६८ हजार २ सय ९४ जना उपस्थित दर्शकहरुको माझ अल वायात स्टेडियम अलखोरमा भएको खेलमा फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो ।

 

फ्रान्सलाई जित दिलाउन थिओ हर्नान्डेज र राण्डल कोलो मुवानीले १-१ गोल गरेका थिए । उपाधिका लागि आउँदो आइतबार कतारको राष्ट्रिय दिवसको दिन डिसेम्बर १८ मा फ्रान्सले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने छ । सो खेल आइतबार राति ८:४५ बजे  हुनेछ ।

 

 

सन् २०१८ को विश्वकपको राउण्ड अफ १६ मा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोल अन्तरले हराएको थियो । हालसम्म फ्रान्स र अर्जेन्टिनाले समान दुई-दुई पटक विश्वकपको उपाधि उठाएका छन।

 

तेस्रो स्थानका लागि शनिबार राति ८:४५ मा मोरक्को ले क्रोएशियासँग खलिफा इन्टरनेशनल स्टेडियममा खेल्नेछ ।

 

सम्बन्धित समाचार