युटुव माथी नियन्त्रण गर्न माग गर्दै भेलु बाजेबिरूद्ध प्रसाशनमा उजुरी : जथाभावी बाेलेकाे भन्दै

प्युठान । ‘भेलु बाजे’का नामले सामाजिक सञ्जालमा चर्चित मिनबहादुर बुढाले समाजमा विकृति फैलाएको भन्दै नियन्त्रणको माग गरिएको छ। प्युठानको झिमरुक गाउँपालिका–३ निवासी अखिल (छैठौं) का महासचिव शुवास जिसीको नेतृत्वमा गएको युवाहरुको टोलीले प्युठानका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै मर्यादा कायम गराउन माग गरेको छ ।

मदिरा सेवन गराइ सामाजिक सञ्जालमा अश्लिल शब्द बोल्न लगाएर रेकर्ड गर्ने र सार्वजनिक गर्ने केही युटुबर र सामाजिक सञ्जाल प्रयोगकर्ताका कारण उनी चर्चामा रहने गरेका छन्।

उनका हर्कतलाई नियन्त्रण गर्न माग गर्दै प्रजिअलाई बुझाइएको ज्ञापन पत्रमा ‘जुम्रिकाँढा घर भएका श्री मिनबहादुर बुढा (सामाजिक सञ्जालमा ‘भेलु बाजे’ भनिने) लाई तपशिलमा उल्लेखित मिडिया तथा व्यक्तिहरुले मदिरा सेवन गराई मात्तिएका अवस्थामा विभिन्न अश्लिल हर्कतहरु गराउने र सामाजिक सञ्जालबाट प्रस्तुत गरी समाजमा फोहोर, अश्लिल, अपाच्य र अमर्यादित शब्दहरु प्रसारण गर्ने गरेको’ आरोप लगाइएको छ।

जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय र पत्रकार महासंघ, प्युठान जिल्ला शाखालाई बोधार्थ दिइएको पत्रमा ‘त्यसको गहिरो गरी बालबालिकाहरुमा समेत प्रभाव परेकोले यथासिघ्र ‘भेलु बाजे’ उनलाई प्रोत्साहन गर्ने मिडिया र व्यक्तिहरुलाई समेत नियन्त्रण गरी सामाजिक अनुशासन र मर्यादा कायम गर्नु अनिवार्य छ’ भनिएको छ। ज्ञापन पत्र बुझ्दै प्रजिअ सुनिता नेपालले यससम्बन्धमा आवश्यक कारबाही गर्ने प्रतिवद्धता जनाएको महासचिव जिसीले बताए।

 

सम्बन्धित समाचार