फिफा बिश्वकप ‘२०२२’मा नेपाली कलाकारहरुको सहभागिता र प्रस्तुतिहरु….

प्रकाश दर्नाल’शितल’

दोहा कतार :- फिफा बिश्वकप फुटबलको २२औं सस्करणको सम्पुर्ण खेलहरु आइतबार राती सम्पन्न भएको छ । बिश्वभरबाट सहभागी ३२ टिममध्ये अर्जेन्टिना यो सस्करणको उपाधी चुम्न सफल बन्यो। फ्रान्ससङ्ग भएको फाइनल खेलमा निर्धारित समयमा ३-३ गोल गरेपछि अतिरिक्त ३० मिनेट समय थप गरिएको थियो । सो समयमा पनि निर्णायक गोल नभएपछि पेनाल्टी सुटआउट मार्फत फ्रान्सलाई ४-२ गोलअन्तरले पछि पार्दै अर्जेन्टिनाले उपाधी आफ्नो पोल्टामा पारेको हो।

 

खेल हेर्न सन्सारभरबाट लाखौको सङ्ख्यामा दर्शकहरु आएका थिए साथै कतारमा भएका कयौं आप्रवासी कामदारहरुले पनि स्टेडियममै पुगेर खेल हेर्ने मौका पाए भने कयौंले सहजताको लागि कतार सरकार र फिफाले बनाएको ठुल-ठुला फ्यान जोनहरुमा गएर खेल हेर्दै आनन्द लिएका थिए।

 

धेरै जसो फ्यान जोनहरुमा हाया कार्ड अनिवार्य गरिएको भए पनि सनैया स्ट्रीट नम्बर ५५ मा भने यो नियम लागू गरिएको थिएन ।जहाँ जो पनि गएर खेल हेर्दै विभिन्न देशको भाषा र पहिचान सहितको साङ्गीतिक माहोलसङ्गै रमाउने बाताबरण मिलाइएको थियो।

 

नोभेम्बर १८ देखि संचालनमा आएको फ्यान जोनहरुमा अन्य देशका कलाकारहरुले जस्तै नेपाली कलाकारहरुले पनि आफ्नो भाषा र कला सस्कृती झल्किने खाल्को थुप्रै साङ्गीतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए। सुप्रीम कमिटी र एमओआइ कतारद्वारा सयुक्त रुपमा निर्माण गरिएको फ्यान जोनहरुमा एक दर्जन भन्दा धेरै टोलिले प्रस्तुति दिएको गैर आवासीय नेपाली संघ (एनआरएनए) कतारका सास्कृतिक संयोजक सामुयल सुनुवारले जनता खबरसङ्ग बताउनु भयो।

 

उनका अनुसार सुनुवार सेवा समाज शाखा कतारका कलाकारहरूले  मौलिक श्यादर शिल, नेपाली महिला समाज कतारका बालकलाकारहरुले हामी नेपाली हाम्रो नेपाल, किरात राई यायोक्खा शाखा, कतारले मौलिक  राई साकेल, तमु गुरुङ समाज कतारले मौलिक कौडा र हे कान्छी, अन्तर्राष्ट्रिय कलाकार मञ्च, कतारका कलाकारहरूले गैरी खेतको सिरै हान्यो र झ्याउरे मगर नृत्य प्रस्तुत गरेका थिए ।

 

यस्तै, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका तर्फबाट नेपाली मौलिक गीत, नेपाली प्रवासी तामाङ समाज कतारले मौलिक तामाङ सेलो, थारु सेवा समाज कतारले मौलिक थारु डन्डी नृत्य, किरात समारोह समिति कतारले मौलिक किराती नृत्य, क्यु एन डान्स ग्रुप कतारले पूर्वेली मारुनी, शेर्पा किदुग दोहा कतारले जोमुला पुक्ता लेह्मु शेर्पा सेब्रु नृत्य, काठमाडौं म्युजिकल ब्यान्ड, कतारले विभिन्न चर्चित गीत र एनआरएनए कतारका तर्फबाट झ्याउरेसहित दुई ओटा नृत्य पेस भएका थिए भने नेवा पुच कतारले आफ्नो मौलिक धिमे नाच, नेपाल मगर संघ कतार शाखाले सालैजो झ्याउरे, मित्रता परियार एकता समाजले लाइभ पञ्चेबाजा बजाएर दर्शकरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए।

यो सङ्गै ग्राण्ड मलको क्रिकेट स्टेडियममा रहेको फ्यान जोनमा सयथरि बाजा एउटै ताल गीतमा सामूहिक नृत्य,अल जाबर कम्पनी खरारामा किरात याक्थुङ चुम्लुङ कतारले मौलिक केलाङ नृत्य, लोकदोहोरी गीत प्रतिष्ठान कतार शाखाले मौलिक गीत र लेबर सिटि फ्यान जोनमा तमु गुरुङ समाज कतारका कलाकारहरूले सालैजो मौलिक नृत्य प्रस्तुत गरेका थिए । कतार सरकारको आधिकारिक निकायबाट फिफामा प्रस्तुतिका लागि नेपालबाट समेत कलाकारको माग भएको तर अन्तिम समयमा ल्याउन सम्भव नभएको संघका अध्यक्ष मोहमद मुक्तदाले जानकारी दिनुभएको छ ।

 

 

मुक्तदाले कतारमा रहेका कलाकारहरूको सबै प्रस्तुतिहरू जिम्मेवार अधिकारीहरूले हेरेर मात्र अनुमोदन गरिएको र थुप्रै कलाकारको प्रस्तुति अस्वीकृत भए पनि नेपाली मौलिक सस्कृती लाई विश्व सामु प्रस्तुत गर्ने अवसर प्रदान गर्ने कतार सरकार र जिम्मेवार निकाय,सांस्कृतिक संयोजक,कलाकार लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा कार्यक्रम सफल बनाउन सहयोग गर्नेहरु सम्पुर्ण प्रति आभार व्यक्त गर्नु भएको छ।

 

सम्बन्धित समाचार