झण्डै तीन सय जना पक्राउ सर्वोच्च अदालतमा र ब्राजिलको संसद्, राष्ट्रपति भवन

ब्राजिलको संसद् भवन, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा आक्रमण गर्ने झण्डै तीन सय जना पक्राउ परेका छन् ।

सत्ताबाट बाहिरिएका कट्टर दक्षिणपन्थी नेता जायर बोल्सोनारोका समर्थकहरू संसद् र सर्वोच्च अदालतभित्र प्रवेश गरेका थिए भने राष्ट्रपति भवनलाई घेरेर आक्रमण गरेका थिए ।

घण्टौ लामो भिडन्तपछि ब्राजिलको सुरक्षा बलले राजधानी ब्रासिलियामा रहेका महत्वपूर्ण सरकारी भवनहरु नियन्त्रण लिएको थियो ।

सुरक्षा बलले नियन्त्रणमा लिइसकेपछि सर्वोच्च अदालत पुग्नुभएका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले अदालत र संसद् भवन भित्र प्रवेश गरेर आक्रमण गर्नेहरुलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ ।

हुलदंगा समयमै नियन्त्रण नगरेको र आक्रमण भैरहेको बेला मौन बसेको भन्दै ब्राजिलको सर्वोच्च अदालतले ब्रासिलियाका गभर्नर इवानेसिस रोचालाई ९० दिनका लागि पदबाट निलम्बन गरेको छ ।

वामपन्थी नेता र समूहहरूले अहिले ब्राजिलभरी नै प्रजातन्त्र समर्थित र्‍यालीहरूको आह्वान गरिरहेकाे बीबीसीले जनाएको छ ।

लुलाले राष्ट्रपतिको पदभार सम्हालेको एक हप्तापछि ब्रजिलियन फुटबल टोलीको टिसर्ट लगाएका र राष्ट्रिय झण्डा बोकेका हजारौँ प्रदर्शनकारीले प्रहरीलाई बेवास्ता गर्दै हुलदंगा मच्चाएका हुन् ।

वामपन्थी नेता लुलाले राजधानीमा शान्ति सुरक्षा पुनर्स्थापनाका लागि नेसनल गार्ड परिचालन गर्नुअघि आपत्कालीन विशेष अधिकार घोषणा गर्नुको साथै मुख्य सरकारी भवनहरू रहेको राजधानीको मध्य भागलाई २४ घण्टा बन्द गर्ने आदेश पनि दिनुभएको थियो ।

न्यायमन्त्री फुलाभियो डिनोले प्रदर्शनकारीहरूलाई राजधानीमा ओसार्न प्रयोग गरिएका झण्डै ४० वटा बस जफत गरिएको जानकारी दिनुभएको छ ।

बोल्सेनारोले गएको अक्टोबरमा भएको राष्ट्रपतीय चुनावमा भएको आफ्नो पराजय अस्वीकार गर्दै आउनुभएको छ ।

यो घटना अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हार्दा उहाँका समर्थकहरूले अमेरिकी संसद भवनमा गरेको आक्रमणको जस्तै भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् उज्यालो अनलाइन बाट

सम्बन्धित समाचार