प्रदीप ज्ञवाली भन्छन गठबन्धनलाई टिकाउनुपर्ने बाध्यात्मक अवस्था छ

काठमाण्डाै – नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाउनुपर्ने बाध्यात्मक अवस्था रहेको बताउनु भएको छ ।

देशको राजनीतिक स्थायित्वका लागि पनि सत्तारुढ गठबन्धनलाई टिकाएर अघि बढ्नुपर्ने पूर्वमन्त्री समेत रहनु भएका उपमहासचिव ज्ञवालीको तर्क थियो ।

शनिबार काठमाण्डौमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्ष : ३० वर्षमा २८ सरकारका नालीबेली’को सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँले देशमा राजनीतिक स्थायित्वको नाममा राजनीतिक प्रणालीमा भने पुनर्विचार गरेर जाने अवस्था तत्कालका लागि नभएकोतर्फ पनि सचेत गराउनु भयो ।

उपमहासचिव ज्ञवालीले देशको राजनीतिक स्थायित्वका लागि प्राज्ञिक बहसको माग समेत गर्नु भयो । नभए चुनाव अघिको गठबन्धन पनि नटिक्ने र पछिको गठबन्धन पनि टिकाउ नहुँदा देश मारमा पर्ने उहाँले स्मरण गराउनु भयो ।

उपमहासचिव ज्ञवालीले राजनीतिक स्थायित्वको लागि राजनीतिक विचारधारामा आधारित, उद्देश्यमा आधारित गठबन्धन बनाएर देशको राजनीतिलाई अघि बढाउनुको विकल्प नरहेको पनि पटकपटक दोहोर्‍याउनु भयो ।

उपमहासचिव ज्ञवालीले अहिलेको निर्वाचन प्रणाली र एलाईन्सहरु टिकाउ हुन नसक्नुको कारणबारे खोजी गर्न जरुरी रहेको पनि बताउनु भयो ।

सम्बन्धित समाचार