रामेछाप सदरमुकाम मन्थलीमा वाग्मती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखी सुरु..

रामेछाप / रामेछाप सदरमुकाम मन्थलीमा वाग्मती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता आजदेखी सुरु भएको छ,जिल्ला समन्वय समिती रामेछापको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन एमाले नेता गोकर्ण विष्टले गर्नुभएको हो।

उद्घाटन सङ्गै प्रारम्भ भएको प्रतियोगिताको पहिलो दिन ३ वटा खेल भएका छन् । नेकपा एमालेको जनसङ्गठन नेपाल खेलकुद महासङ्घ वाग्मती प्रदेश कमिटीको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको पहिलो खेल रामेछाप र काठमाडौँ,दोस्रो सिन्धुली र नुवाकोट,तेस्रो सिन्धुपाल्चोक र रसुवा जिल्लाबिच भएको प्रतिस्पर्धामा क्रमश रामेछाप,सिन्धुली र सिन्धुपाल्चोक विजयी भएका छन् । विजयी भएका तीन वटै जिल्लाले सोझो सेटमा हराएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा वाग्मती प्रदेशका १३ जिल्लाका १३ टिमले भाग लिएका छन् । एक टिममा १२ जना खेलाडी सहभागी प्रतियोगितामा १ सय ५६ जना खेलाडी सहभागी रहेको आयोजकले जनाएको छ ।

चार दिनसम्म चल्ने सो प्रतियोगिता ३० हजार मानिसले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अनुमान छ । प्रतियोगिताको विजेता टोलीले २ लाख नगदसहित, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः १ लाख, ५० हजार र ३० हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा सहभागी हुने हरेक टिमलाई टिम व्यवस्थापन खर्च स्वरूप २५ हजार रुपैयाँ प्रदान गरिने छ । त्यस्तै सेमिफाइनलमा पुग्ने टोलीलाई थप २५ हजार रुपैयाँ व्यवस्थापन खर्च उपलब्ध गराइने आयोजकले जनता खबरलाई जानकारी दिएको  छ ।

सम्बन्धित समाचार