राष्ट्रपतिको उम्मेदवारको विषयमा छलफल हुने उच्चस्तरीय संयन्त्रको बैठक भोलि,

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ ।

 

बिहान ओली निवास बालबोटमा भएको छलफलमा भोलि संयन्त्रको बैठक बोलाउने र राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

राष्ट्रपतिको उम्मेदवारको विषयमा सत्तारुढ दलहरुभित्र एकमत भैनसकेको बेला संयन्त्रको बैठक बस्न लागेको हो ।

 

यसअघि सरकार गठनको बेला एमालेलाई राष्ट्रपति दिने सहमति भए पनि पछिल्लोपटक प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन हुने बताउँदै आउनुभएको छ ।

 

कांग्रेसलेसमेत सरकारलाई समर्थन दिएपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा उठाउन थाल्नुभएको हो । तर एमालेले भने पूर्वसहमतिअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने बताउँदै आएको छ । निर्वाचन आयोगले आउँदो फागुन २५ गते राष्ट्रपतिको चुनावको मिति तोकेको छ ।

 

ओली र प्रचण्डबीच आज भएको भेटवार्तामा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछिको अवस्थाको बारेमा पनि कुराकानी भएको छ ।

 

सर्वोच्चको आदेश र राष्ट्रिय स्वतन्त्र पार्टीको पछिल्लो निर्णयपछि गृह मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय खाली छ ।

 

यी मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नगर्ने गरी प्रधानमन्त्रीले नै सम्हाल्दै आउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि सरकारमा ल्याउन प्रयास भैरहेको सत्तारुढ नेताहरुको भनाइ छ । उज्यालो अनलाइन बाट

सम्बन्धित समाचार