जनयुद्ध दिवस होइन, यो विरोधाभाष र मजाकको अभ्यास मात्रै हो : सूर्य थापा

काठमाडौं, १ फागुन । नेकपा (एमाले) का युवा नेता तथा सांसद सूर्य थापाले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिईएकोबारे आलोचना गरेका छन् । उनले जनयुद्धलाई नै नक्कली भनेका छन् । थापाले जनयुद्ध दिवस मनाउने निर्णय र सार्वजनिक विदाको घोषणा शासकीय अख्तियारको चरम दुरुपयोग नै भएको पनि टिप्पणी गरेका छन् ।

 

सामाजिक सञ्जालमार्फत थापाले यस्तो लेखेका छन्–

 

आजको दिन म आफ्ना जेठा दाजु कृष्णबहादुर थापालाई सम्झँदै हृदयदेखि नै सम्मान र श्रद्धाञ्जलि अर्पण गर्दछु। र, उहाँसँगै अनाहकमा जीवन गुमाउन बाध्य १७ हजार जना नेपाली दाजुभाइ दिदीबहिनीहरू सबैप्रति पनि श्रद्धासुमन अर्पण गर्न चाहन्छु।

२०५२ साल फागुन १ गते थालिएको हिंसा जनयुद्ध थिएन, सशस्त्र संघर्ष मात्रै थियोे। जनताको सहभागिता र इच्छामा नभएर भयदोहन, आतंक र हत्या हिंसा थियोे । यदि जनयुद्ध वा क्रान्ति हुँदो हो त त्यसलाई बीचमै स्थगित गरी अलपत्र पारिने थिएन!

त्यसमा सहभागी भएर बलिदान हुने, घाइते र अपांग भएर जीवन बिताउन बाध्य योद्धा र बेपत्ता पारिएकाहरूप्रति सम्मान नै छ, जसले क्रान्तिको रूमानी सपनाका खातिर आफ्नो सर्वस्व गुमाउन र जीवन नै समर्पित गर्न तयार भए। तर तिनका सपनाको व्यापार गर्दै धोका र विश्वासघात त तिनले गरिरहेका छन्, जो नक्कली जनयुद्ध दिवसका नाममा तिनका उदात्त सपनाको सौदाबाजी गरिरहेका छन् ! व्यवहारमा चाहिँ पार्टीको नाम, झण्डा र चुनाव चिन्ह नै बदल्ने प्रस्तावसहित विमाओकरण हुँदै सशस्त्र संघर्षका बाँकीबक्यौता विरासत र अवशेषप्रति नै निर्णायक तथा अन्तिम सम्बन्धविच्छेद गर्न खोजिरहेका छन् !

खासमा जनयुद्ध दिवस होइन, यो विरोधाभाष र मजाकको अभ्यास मात्रै हो! जनयुद्धको कार्यदिशा परित्याग गरेको झण्डै डेढ दशकपछि सरकारीस्तरमा जनयुद्ध दिवस मनाउने निर्णय र सार्वजनिक विदाको घोषणा शासकीय अख्तियारको चरम दुरुपयोग नै हो।

सम्बन्धित समाचार