रविको राहदानीसम्बन्धी जाहेरी दर्ता गर्नुपरेन सरकारी वकिलकाे कार्यालयले भन्यो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको जाहेरी दर्ता गर्नु नपर्ने निश्कर्ष निकालेको छ ।

 

लामिछानेले झुटो विवरण दिएर राहदानी लिएको भन्दै सिन्धुलीका युवराज पौडेल सफलले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । तर प्रहरीले लामिछानेको नागरिकता मुद्दाको फैसलाको पूर्णपाठ सर्वोच्च अदालतबाट आइ नसकेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो ।

 

 

त्यसपछि उनले प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन दिएका थिए । सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंमा छानबिन चलिरहेको सूचना आएको भन्दै जाहेरीमा केही गर्नु नपर्ने भन्दै थन्क्याउने निर्णय गरेको हो ।

 

‘यही विषयमा जिल्ला प्रहरी परिसर, काठमाडौंमा परेको जाहेरीमाथि अनुसन्धान सुरु भएको रहेछ, त्यहाँ छानबिन चलिसकेपछि यहाँ आएको उजुरीमाथि थप केही गर्नुपर्ने देखिएन’ जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख अच्यूतमणि न्यौपानेले भने, ‘त्यसैले थप केही गर्नु परेन भनी निर्णय गरेर यो उजुरी थन्क्याउने निर्णय गरेका छौं ।’

 

सरकारी वकिल कार्यालयले यसअघि लामिछानेको राहदानीको विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, राहदानी विभाग र अध्यागमन विभागबाट विवरण माग गरेको थियो । जिल्ला प्रशासन कार्यालय बाहेक अरु निकायबाट जवाफ नआएको सरकारी वकिल कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले भने रविले नागरिकताको अभिलेख भेटिएको जवाफ लेखेको एक सरकारी वकिलले बताए ।

 

रविको राहदानीको विषयमा केही महिनाअघि गृह मन्त्रालयमा परेको उजुरी जिल्ला प्रशासन कार्यालय हुदै जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेको थियो । जिल्ला प्रहरी परिसरले यसमाथि छानबिनको क्रममा अध्यागमन विभाग, राहदानी विभाग लगायतका निकायबाट विवरण मगाएको भेटिएको पनि सरकारी वकिल कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार