नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरी कैलाली कारागारबाट रिहा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरी रिहा भएका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी कैलाली कारागारबाट रिहा भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गर्नुभएको थियो । सोही सूचीमा कैलाली कारागारमा रहेका चार जनाको नाम समावेश रहेका थिए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले आवश्यक प्रक्रिया पूरा गरेर चौधरीलाई रिहा गरिएको जानकारी दिनुभएको छ ।

थरुहट आन्दोलनताका बन्दको अवज्ञा गरिएको भन्दै २०६६ भदौ ३ मा ट्याक्टर जलाएको घटनामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार