राष्ट्रपतिकाे कार्यकाल सफलतापूर्वक सम्पन्न भएको छ: अध्यक्ष केपी शर्मा ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको दाबी गर्नुभएकाे छ ।

राष्ट्रपति भण्डारीको सफल, सही, उत्कृष्ट र मर्यादित भूमिकालाई हेरेर दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित हुनुभएको उल्लेख गर्दै अध्यक्ष ओलीले उहाँको यस खालको भूमिका नेपाल र नेपाली महिलाहरूका लागि गर्वको विषय भएको जिकिर गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘आज महिला दिदीबहिनीहरूले गौरव गर्नुपर्दछ कि विद्या भण्डारीजस्तो महिला नेत्री, तपाईँहरूको आन्दोलनबाट हुर्किएर गएको महिला नेत्री, भोजपुरको एउटा गाउँमा जन्मिएकाे व्यक्तिले राष्ट्रपतिको जिम्मेवारी बहन गर्नुभयाे ।

त्यो जिम्मेवारी एक पटक मात्रै होइन । फेरि उहाँ जिद्दी गरेर यहाँ रहनैपर्छ भनेर होइन । अघिल्लो कार्यकालको उहाँको सफल, सही र उत्कृष्ट मर्यादित भूमिकालाई हेरेर फेरेर दाेहाेरिनुभएकाे हाे ।’

११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुधवार च्यासलमा रहेकाे एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भोजपुरको गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुनु सामान्य विषय नभएको बताउनुभयो ।

अध्यक्ष ओलीले महिलाहरू अब प्रधानमन्त्री पनि बन्न सक्ने भन्दै त्यसका लागि क्षमता विकास भने गर्नुपर्ने बताउनुभयो ।

सम्बन्धित समाचार