आज घोडे जात्रा पर्व, काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आज घोडे जात्रा पर्व, काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । घोडे जात्राको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

 

प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । नेपाली सेनाले टुँडिखेलमा विभिन्न झाँकी प्रदर्शन गरेर घोडेजात्रा मनाउँदै छ ।

 

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको रूखमा वास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो ।

 

यसै मिथकका आधारमा प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने चलन चलेको बताइन्छ । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास छ ।

सम्बन्धित समाचार