रामेछापको विकासका लागी सांसद युवराज चौलागाईले मागे ७ करोड बजेट

बागतमी प्रदेश सांसद युवराज चौलागाईले रामेछाप जिल्लाको विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र विकासका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मान्त्रालयमा बजेट सिलिङसहित माग पत्र पेश गर्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री सुदन किरातीसँग विकास योजनाका बारेमा छलफल गर्नुका साथै माग पत्र पेश गर्दै ध्यानाकर्षण समेत गराउनुभयो ।

सांसद चौलागाईले आर्थिक वर्ष २०८०/८१ का लागि दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नं. १ र २ को सीमानामा रहेको दोरम्बा सहिद पार्कका लागि २ करोड रुपैयाँ, मन्थली नगरपालिका–९ पुरानागाउँस्थित स्थानापति महादेव मन्दिर परिसरमा पार्क निर्माण गर्न १ करोड रुपैयाँ बजेट माग गर्नुभएको छ ।

त्यसैगरी रामेछाप र दोलखाको सीमाना ठूलो शैलुङ्ग डाँडामा मन्दिर, पार्क र सिँडी निर्माणका लागि २ करोड रुपैयाँ बजेट माग गर्नुभएको छ । त्यस्तै सुनापति गाउँपालिका–४ भ्वाँसास्थित पेमा छोइलिङ गुम्बाका लागि १ करोड र खाँडादेवी गाउँपालिका–१ राकाथुमको थुवतेन ताडुप रिगतिलिङ गुम्बाका लागि १ करोड रुपैयाँ बजेट मन्त्रालयसँग माग गर्नुभएको छ ।

धार्मिक तथा पर्यटनसँग सम्बन्धीत ५ योजनाका लागि सांसद चौलागाईले ७ करोड बजेट माग गर्दै मन्त्रालयको ध्यानाकर्षण समेत गराउनुभयो । सांसद चौलागाई रामेछापको प्रदेश सभा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको हो ।

सम्बन्धित समाचार