सिहंदरबार अगाडिका अवैध संरचना काठमाण्डाै महानगरले हटायो

 

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले सिहंदरबार अगाडि रहेका अवैध संरचना र अव्यवस्थितरूपमा फालिएका फोहरमैला हटाएको छ ।

 

राष्ट्रिय वाणिज्य बैंकदेखि नेपाल टेलिकम केन्द्रीय कार्यालय वरिपरिका अवैध संरचना तथा अव्यवस्थित फोहरमैला हटाइएको हो । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले तीन दिन अगाडिदेखि भवन वरिपरिका अव्यवस्थित फोहरमैला हटाउन माइकिङ गरेको र आज महानगरले विशेष सरसफाइ अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।

 

‘सिंहदरबार अगाडिका अवैध संरचना तथा अव्यवस्थित फोहरमैला हटाएका छौँ । आफ्नो घर, कार्यालय अगाडि सरसफाइ गरिदिनुहुनका लागि महानगरले अनुरोध गर्दै आएको छ । महानगरलाई स्वच्छ, सफा बनाउन सम्पूर्ण व्यक्ति जिम्मेवार हुनुपर्दछ’ उहाँले भन्नुभयो ।

 

सरकारी कार्यालय अगाडि अवैध संरचना तथा अव्यवस्थित फोहरमैला राखेमा जरिबाना गर्नुपर्ने विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । सिंहदरबारको पश्चिमगेट अगाडि पुल मुनि रहेका रेष्टुराँलगायतले निर्माण गरेका अवैध संरचना हटाइएको हो । महानगरले टुकुचा खोला वरपर सफा गर्नुका साथै शौचालयलगायतका संचना हटाएको छ ।

 

महानगरले विभिन्न ठाउँमा प्रत्येक दिन विशेष सरसफाइ अभियान सञ्चालन गर्दै आएको बताउँदै उहाँले आउँदाे शनिवार वृक्षारोपणको कार्यक्रम गर्ने जानकारी दिनुभयो । उज्यालो अनलाइन बाट

सम्बन्धित समाचार