सभापति रवि लामिछानेले भन्ने भैँसी, राँगाको गफ गरेर पाँच वर्ष बिताउने हो भने हामीले गोबर बाहेक केही पाउँदैनौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा आफ्नो पार्टीका सांसदहरुको केही दिन यताको बहस अमर्यादित भएको भन्दै माफी माग्नुभएको छ ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले विगत केही दिन यता प्रतिनिधि सभामा भएको छलफलबाट आफू लज्जित भएको बताउनुभएको हो ।

सभापति लामिछानेले हचुवाको भरमा बजेट निर्माण भएको टिप्पणी गर्नुभयो । उहाँले बजेट राजस्वमा आधारित भएको भन्दै कार्यान्वयनमा आशंका गर्नुभयो । उहाँले गोरखा, नुवाकोट र डडेलधुरामा मात्रै विकास बजेट गएको समाचारहरु बाहिरिएको भन्दै यस सम्बन्धमा अर्थमन्त्रीको जवाफको माग गर्नुभयो ।

उहाँले प्रतिनिधि सभा बैठकमा राँगा र भैँसीको विषयमा गफ गरेर पाँच वर्ष बिताएमा गोबर बाहेक केही पनि नपाउने बताउनु भयो । उहाँले सो विषयमा गरेको गफप्रति आफू आत्मआलोचित भएको बताउनु भयो ।

सभापति लामिछानेले बजेटको विषयमा कुराकानी गरिरहँदा यस्तो विषय बैठकमा उठ्नुले सर्वसाधारणमा राम्रो सन्देश नगएको भन्दै आफ्नो भागमा पर्ने दोषप्रति आफू जिम्मेवार भएको र क्षमा याचना गर्ने बताउनुभएको हो ।

उहाँले बजेटमा विदेशमा भएका नेपालीलाई मताधिकार दिने विषय नपरेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । सभापति लामिगछानेले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गर्नुभयो ।

त्यसैगरी उहाँले आगामी दिनमा बजेट बन्नुभन्दा ५ महिना अगाडी नै शिक्षा र स्वास्थ्य नीति कस्तो बनाउने भन्ने सम्बन्धमा बृहत छलफल गरेर साझा अवधारणा बनाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै आफुहरु जन्मसिद्ध नागरिकहरुले नागरिकता पाउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै नागरिकता विधेयक संसदमा छलफल हुनुपर्ने र आफूहरु छलफलमा भाग लिन पाउनुपर्ने पक्षमा रहेको उहाँले बताउनु भयो ।

सम्बन्धित समाचार