सरकार सञ्चालकहरुले गरेको नकारात्मक कामको दोष गणतन्त्रलाई बोकाउनु हुँदैन : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार सञ्चालकहरुले गरेको नकारात्मक कामको दोषको भारी गणतन्त्रले बोक्नुपरेको बताउनुभएको छ ।

 

प्रेस काउन्सिल नेपालले सोमबार(हिजो) भक्तपुरमा आयोजना गरेको सम्पादक सम्वाद कार्यक्रममा बोल्दै मन्त्री शर्माले सरकार सञ्चालकहरुले गरेको नकारात्मक कामको दोषको भारी गणतान्त्रिक व्यवस्थाले बोक्नुपरेको बताउनुभएको हो । उहाँले गणतान्त्रिक व्यवस्था आफैँमा राम्रो व्यवस्था भएपनि केही खराब कामको दृष्टान्त दिदैँ गणतान्त्रिक व्यवस्थामाथि प्रहार हुने गरेको बताउनुभयो ।

व्यवस्था र व्यवस्था सञ्चालक फरक–फरक कुरा भएको भन्दै उहाँले व्यक्तिले गरेको गल्तीको भारी व्यवस्थालाई बोकाउनु नहुने धारणा राख्नुभयो । उहाँले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ सुदृढ र राम्रो लोकतान्त्रिक गणतन्त्र भएको भन्दै यसलाई सुदृढ बनाउनका लागि मिडियाले पनि भुमिका खेल्नुपर्ने बताउनुभयो । मन्त्री शर्माले मिडियाले सबै क्षेत्रका सकारात्मक कुराहरुलाई पनि स्थापित गराउन लाग्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘सांसदका स्वकिय सचिवहरु को–को छन् ? को–को हुन्छन् ? क–कसलाई स्वकिय राख्छन् भन्नेकुरा आइरहँदामा परिवारबाट राख्छन् भन्नेकुराको लिष्ट बन्छ । पत्रिकामा छापिन्छ । जसले त्यो गरेको छैन । जसले सहिद परिवार राख्छ । जसले कार्यकर्ता राख्छ ।

त्यसको नाम नै आउँदैन । चर्चा नै हुन्न । त्यो नगर्ने मान्छे कसरी प्रोत्साहित होला ? नकारात्मक कुरालाई प्रहार गर्नुको उद्देश्य सकारात्मक होस् भनेर हो । तर सँगसँगै सकारात्मक कुरालाई अलिअलि त स्थापित गरेर जानुप¥यो । समाजमा आशाको दियो बाल्नुप¥यो ।

म के आग्रह गर्न चाहान्छु भने, नयाँ साथीहरुलाई पनि गाइड गर्ने गरेर तपाईहरुले जुनसुकै क्षेत्रहरुको सकारात्मक कुराहरु स्थापित गर्ने कसरी हो त्यो पनि सोचौँ । नकारात्मकलाई प्रहार पनि गरौँ । सरकार सञ्चालन गर्नेहरुले गरेका नकारात्मक कामहरु सतहमा आएका छन् ।

आउनुपनि पर्छ । तर सबै खराबी गणतन्त्र आएपछि मात्रै भएका हुन् ? हिजो सबै दुधले नुहाएको थियो, यस्तो कुरा त होइन नि । सरकार सञ्चालकहरुले गरेको नकारात्मक कामको दोषको भारी गणतन्त्रले बोक्नुपर्ने त होइन नि ।

गणतन्त्रले बोक्नु परिराखेको छ । व्यवस्था र व्यवस्था सञ्चालक भनेको फरक–फरक कुरा हो । व्यवस्था सञ्चालकहरुले गर्ने गल्ती, कमजोरीले व्यवस्थाले दोष पनि बोक्नुपर्छ कतिपय बेलामा त्यो आफ्नो ठाउँमा छ ।

तर हाम्रो यो व्यवस्थाको विकल्प के हो त ? लोकतान्त्रिक गणतन्त्रको विकल्प भनेको त यो भन्दा सुदृढ, राम्रो लोकतान्त्रिक गणतन्त्र न होला । यो भन्दा सुदृढ र राम्रो लोकतन्त्र बनाउन के गर्ने भन्नेकुरा मिडिया क्षेत्रको जिम्मेवारीको विषय हो भन्ने मलाई लाग्छ । मिडियाले गरेका खबरदारीका कतिपय कुराहरुले सरकार राम्रो काम गर्न बाध्य बन्दोरहेछ ।’

 

मन्त्री शर्माले सामाजिक सञ्जालका कारण कतिपय मान्छेहरुको आत्महत्या गर्नेसम्मको अवस्था आएको भन्दै सामाजिक सञ्जालको नियमन आवश्यक रहेको बताउनुभयो । सरकारले नियमावली बनाएर भएपनि सामाजिक सञ्जाललाई व्यवस्थित गर्न लागिरहेको उहाँले उल्लेख गर्नुभयो ।

 

 

सम्बन्धित समाचार