२२ बुँदे घोषणापत्र जारी गर्दै दोस्रो बालक्लवहरुको पूर्वसदस्यहरुको सम्मेलन सम्पन्न   

काठमाडौँ,  । बाल क्लबका पूर्व सदस्यको राष्ट्रिय सम्मेलनमा बालबालिकाको समृद्ध भविष्य सुनिश्चितताको माग गरिएको छ । मङ्सिर १९ र २० गते काठमाडौँमा गरिएको सम्मेलन बुधबार २२ बुँदे काठमाडौँ घोषणा पत्र जारी गर्दै सकिएको हो ।

सम्मेलनले युवा नेतृत्व विकास, उद्यमशीलताजस्ता विषयमा छलफल गरी घोषणा पत्र जारी गरेको सम्मेलनका संयोजक एवम् जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताउनुभयो ।

उहाँका अनुसार घोषणा पत्रमा पारिवारिक बिखण्डन विकृति तथा बालबालिकाको अभिभावकत्वको अधिकार एवम् माया र स्नेहबाट बन्चितीकरण जस्ता समस्या सिर्जना गरेकाले जोखिमपूर्ण परिस्थितिको अन्त्यका लागि स्थानीय उद्यमशीलता प्रवर्द्धन, रोजगारीका अवसर सिर्जना गर्ने र पारिवारिक एकीकरणका लागि स्थानीय आयआर्जन तथा आर्थिक विकासका कार्यक्रमका लागि वित्तीय पहुँच र सहजता, मनोविमर्श सेवा तथा स्थानीय सामाजिक कार्यकर्ताको व्यवस्था गरी बालबालिकाको सुरक्षा र समृद्ध भविष्यको सुनिश्चितताको माग गरिएको छ ।

 

देशभर तीस हजारभन्दा बढी बाल क्लब छ । बाल क्लबमा ८० लाखभन्दा बढी बालबालिका आबद्ध छन् । विगतमा अभिभावकको दबाबमा हुने बाल विवाहमा केही कमी आए पनि हाल यौन तथा प्रजनन स्वास्थ्य शिक्षा तथा जीवनोपयोगी शिक्षाको अभावमा स्वयं किशोरकिशोरी नै विवाह गर्ने प्रवृत्ति बढेको क्लबका पूर्व सदस्यको अनुभव छ ।

स्थानीय रोजगारी र आर्थिक विकासका अवसरको अभावमा युवा पुस्ता ठुलो सङ्ख्यामा वैदेशिक रोजगारीमा जान बाध्य छन् । ६० जिल्लाका १९ देखि २५ वर्षसम्मका युवा सहभागी कार्यक्रममा देशभरका १६० जना १८ वर्षसम्म बाल क्लबमा रहेर पासआउट भएका युवाको सहभागिता थियो । सम्मेलनबाट प्राप्त निष्कर्षको कार्यान्वयन गर्न सरोकारवाला सबैलाई घोषणा पत्रमा अपिल गरिएको छ ।

 

सम्बन्धित समाचार