कतारमा किराँतीहरुले भब्य मनाए साकेला उधौली रापावा श्यादर पिदार (५०८३)….

दोहा कतार – कतारमा रहेका किराँत समुदायले साकेला उधौली / रापावा श्यादर पिदार शुक्रबार भब्य रुपमा मनाएको छ ।

किरात समुदायले हरेक वर्ष मनाउँदै आएको पर्व साकेला उधौली / रापावा श्यादर पिदार (५०८३) यो वर्ष पनि कतारमा स्थापित २ किरात संस्थाहरु किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज शाखा कतारले संयुक्त रुपमा एउटा बृहत शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरि प्लाजामल स्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा मनाएको हो।

किरात राई यायोख्खा शाखा कतारका अध्यक्ष जीवन राईको सभापतित्व, नेपाल आदिबासी जनजाती महासंघ कतारका अध्यक्ष डिएन मगरको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सुनुवार सेवा समाजका का:बा अध्यक्ष तथा कार्यक्रम उप संयोजक कमल बिक्रम सुनुवारले स्वागत मन्तव्य राखेका थिए।

किरात समुदायले मनाउने प्रमुख चाडमध्येको साकेला उधौली / रापावा श्यादर पिदारलाई किरात राई जातिले साकेला, लिम्बूले चासोक तङ्नाम, याक्खाले चासुवा, सुनुवार जातिले फल्षाँदर भनेर मनाउने गरेको पाइन्छ ।

कार्यक्रममा बोल्ने क्रममा एनसिसि कतारका दित्तिय उपाध्यक्ष केशव कार्की, नेपाली जनसम्पर्क समिती कतार महामन्त्री केदार भुसाल, प्रवासी नेपाली मञ्च कतार प्रतिनिधि, सामाजिक ब्याक्तित्व सागर नेपाल, लगायत कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

सोही क्रममा प्रमुख अतिथि मगरले प्रवासी भुमीमा रहेर पनि आफ्ना मौलिक चाडपर्व, रितिरीवाज, परम्परा जोगाउन र मनाउन पाउदा आफुलाई खुशी लागेको बताए भने किरात समुदायअनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसितिर बसाइँ सर्ने समय भएको तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने प्रचलन रहिआएको पनि बताए थिए। 

आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाइ खाएमा बौलाउने,धताउने रगत छदाउने, कुञ्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गलगाँड निस्कने, आँखा दुखाउने (अन्धो बनाउने), कान दुखाउने (बहिरा बनाउने) जस्ता विभिन्न रोग लाग्ने जनबिस्वास र कथनअनुसार माङहरुलाई अन्नबाली पाकेपछि चढाएर मात्र खानुपर्छ भन्ने परम्परा यि समुदायमा अझै पनि छ र त्यसैअनुसार बालीनाली पाकेपछि सम्पूर्ण देवीदेवता तथा प्रकृतिको पूजा गरि तीनराते धार्मिक अनुष्ठान (तङसिङ) पनि गरेपछी माङलाई चढाएर खाने र रमाउने चाडको रुपमा साकेला उधौली / रापावा श्यादर पिदारलाई मनाउने गरिन्छ।

कार्यक्रम अवधिभर दुइओटै किराँती सस्थाहरुको तर्फबाट मौलिक भेषभुसामा सजिएका कलाकारहरुले हामी हौं किराति बोलको गीतमा स्वागत नृत्य प्रस्तुत गरेका थिए भने अरु थुप्रै कलाकारहरुले मौलिक सांस्कृतिक झाँकी सहित विभिन्न साँस्कृतिक प्रस्तुतीहरुले उपस्थित सबैलाई मनोरञ्जित बनाएका थिए । 

साँङ्गीतिक प्रस्तुतिकै क्रममा “द एनआरएन सिङ्गर” सिजन वनको फाइनालिस्ट गायिका गुना मगर निशुले सुनुवार जातिको मातृभाषामा रहेको गीत “पियामी” गाएर कार्यक्रमलाई अझै आकर्षित बनाइदिएकी थिइन भने, कतारमा चल्दै गरेको गैर आवासीय नेपाली तारा २०२३ सिजन -४ को तेस्रो राउन्डमा पुग्न सफल नृत्यकार सुनिता सेर्पाले पनि सोही गीतमा आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन ।

मुल समारोह समितिका महासचिव लक्ष्मी प्रसाद राइले सहजीकरण गरेको कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति जीवन राईले मन्तव्य राख्दै  विभिन्न समस्याका बावजुद पनि २ ओटा संस्था मिलेर कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्णमा धन्यवाद दिदै आगामी दिनमा कतारमा स्थापित सम्पुर्ण किराँती संघ संस्थाहरु एकजुट भएर आफ्नो भाषा, धर्म सस्कृती, रितिरिवाज जोगाउन लागी पर्नु पर्ने बताउदै कार्यक्रमको समापन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मगर, सभापति राई र कार्यक्रमका उप संयुजक तथा सुनुवार सेवा समाज शाखा कतारका कार्यबाहक अध्यक्ष कमल बिक्रम सुनुवार लगायत अन्य धेरै बिशिस्ट ब्याक्तित्वहरुलाई फेटा लगाएर सम्मान पनि गरिएको थियो।

सम्बन्धित समाचार