जापानमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३० पुग्यो

काठमाडौं  । जापानमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । मध्यजापानको इशिकावा प्रान्तमा केन्द्रविन्दु भएर सोमबार ७।६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

 

त्यस क्षेत्रमा पर्ने रहेको नोटो विमानस्थलमा समेत क्षति पुगेको र मानिस अलपत्र परेको जनाइएको छ । भूकम्पबाट ठूलो मानवीय र भौतिक क्षति भएको जापानका प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन् ।

 

जापानको वाजिमा सहरमा भत्केर भग्नावशेषमा परिणत भएर धुवाँ उडिरहेका घरको दृष्य सार्वजनिक भएको छ । त्यहाँ १५ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।  करिब एक हजार उद्धारकर्ताले भग्नावशेषमुनि फसेको हुन सक्ने मानिसको खोजी गरिरहेको बताइएको छ ।

 

जापानको सेनाले घर छाड्नुपरेका मानिसलाई खाना, पानी र कम्बललगायत सामग्री दिइरहेको छ ।

 

जापानको मौसम विज्ञान कार्यालयले सोमबारयता देशमा ७।६ म्याग्निच्युड र अर्को ६ म्याग्निच्युडसहित १५५ भूकम्प÷परकम्प गएको जनाएको छ ।

 

भूकम्पपछि दिइएको सुनामीको चेतावनी अहिले जोखिम घटेपछि हटाइएको छ ।

 

अमेरिकी राष्ट्रपति जो बाइडेनले जापानलाई आवश्यक परे सहयोग गर्न तयार रहेको बताएका छन् ।

 

भूकम्पका कारण भत्किएका घर, च्यापिएका गाडी र धुवाँ उडिरहेको भग्नावशेषको तस्बिर अहिले सामाजिक सञ्जालमा पोस्ट गरिएको देखिन्छ ।

 

जापानमा प्रत्येक वर्ष औसतमा करिब एक हजार ५०० भूकम्प जाने गर्छ ।

 

सन् २०११ मा गएको विनाशकारी भूकम्प र त्यसपछि आएको सुनामीले फुकुसिमाको आणविक प्लान्टमा दुर्घटना निम्त्याएको थियो । त्यति बेला १९ हजार ७५० भन्दा बढी मानिसको मृत्यु भएको थियो । बीबीसीबाट ।

 

सम्बन्धित समाचार