हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक प्रहरी जवानको मृत्यु

काठमाण्डौ । मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । यस्तै २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एडीलाई उपचारको लागी हेटौँडा अस्पताल लगिएको थियो । उहाँको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

आज बिहान हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभ¥याङस्थित पूर्वपश्चिम राजमार्गमा अभ्यासका लागि दौडिँदै गरेको अवस्थामा मोटरसाइकलले ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको हो ।

 

मृत्यु हुनेमा डडेलधुरा जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौडामा कार्यरत वर्ष २५ का प्रहरी जवान विनोद एडी रहेका छन् । प्रहरी जवान एडीलाई हेटौँडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका प्रहरी जवान नवराज सार्की र विजय खत्री सामान्य अवस्थामा रहेको र उपचारपछि डिस्चार्ज गरिएको उहाँले बताउनुभयो । प्रहरी जवान एडीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको मोटरसाइकल पल्टिँदा मोटरसाइकल चालक समेत घाइते भएको प्रवक्ता भण्डारीले बताउनुभयो ।

घाइते दुई जनाको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार