कतारमा जारी गैरआवासीय नेपाली तारा सिजन ४ को सेमिफाइनल शुक्रबार सम्पन्न उपाधीको लागी गायन र नृत्य दुबैतर्फ ५/५ जना भिड्ने……

दोहा कतार – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारको संयुक्त आयोजनामा जारी गैरआवासीय नेपाली तारा (२०२३) सिजन -४ को तेस्रो अडिसन अर्थात सेमिफाइनल चरणको प्रतिस्पर्धा शुक्रबार भब्य सम्पन्न भएको छ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको सभापतित्व, तमु (गुरुङ) समाजकी अध्यक्ष टौमाया गुरुङ लगायत अन्य थुप्रै बिशिस्ट ब्याक्तित्वहरुको साथै सङ्गीत पारखीहरुको बाक्लो उपस्थितिमा प्लाजामलको वेलफेयर रेस्टुरेन्टको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको दोस्रो अडिसनबाट सेमिफाइनलको लागी गायन बिधामा – १७ र नृत्य बिधामा -१० गरि जम्मा -२७ जना छनौट भएका थिए जस मध्ये गायनतर्फबाट मानसिङ परियार, निशान रेग्मी, सुजन गुरुङ, रुस्तम तामाङ र दिपक कुमार घलेले फाइनलको लागी बाजी मारेका छन भने नृत्यतर्फ बाट निरु श्रेष्ठ, सरोज लामा, झरना राई, सौजन चाहार र जुनुमाया कुमालले फाइनलको यात्रा तय गरेसङ्गै अरु प्रतिस्पर्धीहरु प्रतियोगिताबाट बाहिरिएका छन ।

“नेपाली कला संस्कृतिको सम्मान गरौं, प्रवासमा रहेको प्रतिभाको खोजी गरौं” भन्ने मुल नारा बोकेर राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ, प्रवासमा लुकेर बसेको कलालाई प्रस्फुटन गर्ने उद्देश्यले आयोजित यो सिजनको प्रतियोगितामा गायन तर्फ बिरेन्द्र श्रेष्ठ, गुन्जन तामाङ र मंगल विक र नृत्य विधातर्फ भबिन तामाङ, भीम प्रसाद गुरुङ र जनक लाफा मगरले निर्णायकको जिम्मेवारी सम्हालीरहेका छन ।

एनसीसी कतारका सचिव रोशन अर्याल र तमु समाजका महासचिव ज्ञान बहादुर गुरुङ (डिजन) ले सहजीकरण गरेको कार्यक्रममा पर्यवेक्षकहरु बुधबल गुरुङ र क्रान्ति सिंहले प्रत्यक्ष रुपमा कार्यक्रमको अवलोकन गरेका थिए भने यो पटक अतिथि निर्णायकको रुपमा गीतकार तथा सङ्गीतकार प्रभात त्रिपाठी रहेका थिए।

प्रतियोगितामा सहभागी भएर फाइनलमा पुग्न सफल सहभागीहरुको फाइनल छनौट भोटिङ मार्फत गर्ने अथवा अरु कुनै माध्यमबाट गर्ने भन्ने बिषयको टुङ्गो नलागे पनि आयोजक समितीमा छलफल गरेर छिट्टै निर्णय गरि सहभागीहरुलाई जानकारी गराउने भन्दै गोलाप्रथाको माध्यमबाट सबै प्रतिस्पर्धीलाई भोटिङ कोड उपलब्ध गराएको छ। जसमा मानसिङ परियारको-४ निशान रेग्मीको-२ सुजन गुरुङको-३ रुस्तम तामाङको-५ र दिपक कुमार घलेको-१ नम्बर भोटिङ कोड रहेको छ।त्यस्तै नृत्यतर्फ निरु श्रेष्ठको-३ सरोज लामाको-२ झरना राईको-४ सौजन चाहारको-५ र जुनुमाया कुमालको भोटिङ कोड-१ रहेको छ।

साथै यो सिजनमा विजय हुने प्रतियोगीले गायन तर्फ -१ लाख ८१ हजार र नृत्य तर्फ १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउनेछन भने उपविजेताले समान ७५ हजार रुपैयाँको साथमा प्रमाणपत्र पाउनुको साथै गायनतर्फबाट विजेता हुने प्रतिस्पर्धीलाई निर्णायक मङ्गल बि.कले आफ्नो एउटा गीतमा आवाज भर्न अवसर दिने घोषणा गरेका छन ।

प्रतियोगिताको अन्तिम चरणको प्रतिस्पर्धा अर्थात ग्रान्ड फिनाले टुनिसिय स्कुलको सभाहल लुक्तमा २-फेब्रुअरी २०२४ मा हुने तालिका रहेको छ सो कार्यक्रममा नेपालबाट दुबै बिधाका १/१ जना अतिथि निर्णायकको साथै राष्ट्रिय आविष्कार केन्द्रका सस्थापक अध्यक्ष महावीर पुन आउने जानकारी आयोजक समितिले गराएको छ भने कार्यक्रमको अन्तमा सभापति भट्टले फाइनलमा पुगेका सम्पुर्ण प्रतिस्पर्धीहरुलाई बधाई दिदै कार्यक्रम समापन गरेका थिए।

सम्बन्धित समाचार