सुनुवार सेवा समाज शाखा, कतारले भव्य रुपमा मनायो आफ्नो १४औं स्थापना दिवस……..

दोहा कतार – सुनुवार सेवा समाज, शाखा कतारले आफ्नो १४औं स्थापना दिवस” भब्य रुपमा मनाएको छ । समाजका अध्यक्ष शुभराज सुनुवारको सभापतित्व तथा नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष डि.एन मगरको प्रमुख आतिथ्यतामा गत शुक्रबार ग्रान्डमल स्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा एउटा शुभकामना आदान-प्रदान तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो ।

मध्याह्न करिब १२ बजेबाट बिधिवत रुपमा किँराती गित वाचन गर्दै कार्यक्रमका सभापती, प्रमुख अतिथी, विशिष्ट अतिथीहरुलाई किराँती संस्कार अनुसार फेटा लगाएर सम्मान गरे पश्चात् दीप प्रज्वलन र नेपाली राष्ट्रिय गान बजाएर औपचारिक रुपमा अघि बढेको कार्यक्रममा उपस्थित सम्पुर्णलाई सम्बोधन गर्दै संस्थाका प्रथम उपाध्यक्ष कमल विक्रम सुनुवारले स्वागत मन्तव्य राखे लगतै संस्थाको १४औं स्थापना दिवसको केक काटेर एक अर्कामा खुशी साटासाट गरिएको थियो भने समाजमा आवद्ध रहेका कलाकारहरुले मौलिक झाँकी नाच द्वारा कार्यक्रममा सहभागी सबैलाई स्वागत गरेका थिए ।

साँस्कृतिक प्रस्तुति र शुभकामना मन्तव्यको सेड्युल मिलाएर संचालन गरिएको कार्यक्रममा एनसीसी कतारका कार्यबाहक अध्यक्ष केशव कार्की, सामाजिक व्यक्तित्व सागर नेपाल, नेपाली महिला समाज कतारकी प्रथम उपाध्यक्ष सन्ध्या अर्याल, रामेछाप सेवा समाजकि सचिब कविता खत्री, बागमती प्रदेश समन्वय परिषद कतारका अध्यक्ष ललित कुमार तामाङ, सम्पुर्ण मातृ संस्थाको तफबाट अमृत कुमार राई, तमु (गुरुङ) समाजकी अध्यक्ष टौमाया गुरुङ लगायत थुप्रै वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए । साथै कतारमा रहेर कलाकारिता गरिरहेका र आफ्नो प्रस्तुति मार्फत दर्शकहरुको मन जित्न सफल भइ सकेका कलाकारहरु झरना राई, सरला तामाङ, ज्योती सुनुवार, रोस्नी सुनुवार, दिपा सुनुवार, वर्षा तामाङ, सन्जु वाल, सुनिता राई, सिर्जना तामाङ, जनक थापा मगर, कमल बिक्रम सुनुवार, एकराज राई, एन्जल राई, सृष्टि तामाङ लगायतले आ-आफ्नो गायन तथा नृत्य प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

समाजका महासचिव गंगा बहादुर सुनुवारले सहजीकरण गरेका कार्यक्रममा बोल्ने क्रममै प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष डिएन मगरले सुनुवार सेवा समाजले १४औं स्थापना दिवस मनाउदै गर्दा १४ वर्ष सम्म विभिन्न संघ संस्थाहरु सङ्ग हातेमालो गर्दै आज यो अवस्थामा आईपुगेको बताए । उनले आपत बिपत पर्दा सहयोग गर्ने उद्देश्यले स्थापना भएको संस्थाहरुले सहयोगको साथसाथै अन्य धेरै कुराहरु सिकाउने गरेको र दिने गरेको पनि बताए ।

कार्यक्रमकै दौरान सुनुवार सेवा समाज संघीय समिति केन्द्रका अध्यक्ष अमृत बहादुर सुनुवारले डिजिटल प्लेटफर्म मार्फत पठाएका शुभकामना सन्देश पनि सुनाइएको थियो उनले पठाएको शुभकामना सन्देशमा प्रवासमा रहेर पनि समाजले देश, जनता र आफ्नो जाति समुदाय प्रती पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै कतारको विभिन्न कुनामा रहेका सुनुवारहरुलाई एकीकृत गरि संस्था गठन गरि दु:ख तथा अफ्ठ्यारोमा परेकाको संस्थागत साथी बन्दै आएकोमा धन्यवाद दिदै खुशी व्यक्त गरेका छ्न । सुनुवारले दिनप्रतिदिन सुनुवार जातिको भाषा, संस्कृति, सीप र परम्परागत ज्ञान लोप हुँदै गएको हुँदा सुनुवार जातिको पहिचान रक्षा प्रमुख आवस्यक रहेको बताएका छन । सुनुवारले राज्यले नै विभिन्न बहानामा नितिगत रुपमै सुनुवार जातिको नामेट गर्ने उद्देश्यका लागेको र त्यसै कारण आफ्नो हक अधिकारको सुनिश्चितताको २०४५ सालमा सुनुवार सेवा समाजको स्थापना गरि संसार भरको सुनुवार हरुलाई एकीकृत गरि संस्थागत रुपमा काम गर्दै आएको बताएका छन ।

कार्यक्रमको अन्तमा सभापति तथा समाजका अध्यक्ष शुभराज सुनुवारले संस्था स्थापना कालदेखिका सम्पुर्ण पदाधिकारीहरुलाई सम्झदै १४औं स्थापना दिवस कार्यक्रममा आफ्नो निमन्त्रणा लाई स्वीकार गरि उपस्थित भएर कार्यक्रम सफल बनाउने सम्पुर्ण र कार्यक्रम तयारीको लागी अहोरात्र खट्ने सम्पुर्ण कार्यसमिति पदाधिकारीहरु लाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए भने कार्यक्रम समाज स्थापना कालदेखि संस्थापक सचिव, महासचिव, अध्यक्ष हुँदै अहिले प्रमुख सल्लाहकारको भुमिका निभाउदै आएका नीर बहादुर सुनुवार (जनक) लाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

“पहिचान र समानताका लागि प्रतिबद्धता” भन्ने मुल नाराको साथ २०१० मा स्थापना भएको संस्थाको १४औं स्थापना दिवस तथा विविध साँस्कृतिक कार्यक्रममा कतारमा स्थापित विभिन्न मातृं संस्थाका प्रमुख तथा प्रतिनिधि सगैं सामाजिक ब्यक्तित्वहरु, कलाकार तथा पत्रकारहरु सहितको बाक्लो उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्टलाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

सम्बन्धित समाचार