कतारमा दुई किराती संस्थाले एक साथ मनाए साकेला उधौली/रापवा श्यादर पीदार……..

दोहा कतार – कतारमा स्थापित किरात समुदायको दुई संस्था किरात राई यायोख्खा शाखा कतार र सुनुवार सेवा समाज कतार आबद्ध किरात मुल समारोह आयोजक समिति कतारले एउटा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरि आफ्नो विशेष साँस्कृतिक चाड साकेला उधौली/रापवा श्यादर पीदार -५०८४ शुक्रबार प्लाजामल स्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा भव्य रुपमा मनाएको छ ।

किरात राई यायोख्खा शाखा कतारका अध्यक्ष तथा कार्यक्रमका संयोजक जीवन राईको सभापतित्व, नेपाल बाट आएका किरात राई यायोख्या नेपालका केन्द्रिय उपाध्यक्ष तिलक याम्फु राइको प्रमुख आतिथ्यतामा कतारमा स्थापित सम्पुर्ण मातृ संस्थाहरु, जिल्ला संस्था, सामाजिक संस्था, बैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बिशिस्ट व्यक्तित्व, सामाजिक अभियान्ता, कलाकार, पत्रकारहरुको साथै अन्य उल्लेखनीय दोहाबासी नेपालीहरुको उपस्थितिमा विधिवत दीप प्रज्वलन, नेपाली राष्ट्रिय गान र किराँती राष्ट्रिय गान बजाएर किरात परम्परा अनुसार पुजाआजा गरि साँस्कृतिक चाड साकेला उधौली / रापवा श्यादर पीदार मनाएको हो ।

किरात मुल समारोह आयोजक समितीका सदस्य महासचिव सचिव गङ्गा बहादुर सुनुवारले सहजीकरण गरेको कार्यक्रममा समितीका सह -संयोजक तथा सुनुवार सेवा समाज कतारका अध्यक्ष शुभराज सुनुवारले कार्यक्रमको उद्देश्य बारे प्रष्ट पार्दै उपस्थित सम्पुर्णलाई सम्बोधन गर्दै स्वागत मन्तव्य राखेका थिए भने दुइवटै किराती संस्थाको कलाकारहरुले आ- आफ्नो मौलिक भेष भुषामा हामी हौं किराती बोलको गीतमा नृत्य प्रस्तुत गर्दै उपस्थित सबैलाई स्वागत गरेका थिए ।

शुभकामना मन्तव्य र साङ्गीतिक प्रस्तुतिको अत्यन्तै राम्रो तालमेल मिलाएर संचालन गरिएको कार्यक्रममा नेपाली दूतावास कतारका मिनिस्टर काउन्सुलर कुमार राई, एनसिसि कतारका अध्यक्ष रमेश भट्ट, नेपाल आदिवासी जनजाती महासंघ कतार अध्यक्ष डिएन मगर, नेपाली जनसम्पर्क समिती कतार उप-सभापति ठाकुर कुमार परियार, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चुडामणिा कार्की लगायत थुप्रै वक्ताहरुले मन्तव्य राख्ने अवसर पाएका थिए भने अधिकाङ्शले परदेशमा रहेर नेपाली चाडपर्वहरु मनाउन पाउँदा नेपालमै भएको अनुभव हुने बताए ।

त्यसै अन्तर्गत प्रमुख अतिथि याम्फु राईले प्रवासी भुमीमा रहेर पनि आफ्नो, भाषा, कला संस्कृती, रितिरिवाजलाई सम्मान पुर्वक संरक्षण प्रबर्द्धन गर्नको निमित्त लागि पर्ने सम्पुर्ण प्रति आभार व्यक्त गर्दै किराँती राष्ट्रिय चाड मनाउन प्रवासमा पनि जुन खालको जनमानसको उपस्थिति देखियो यो दिगो रुपमा रहोस भन्दै सुभकामना ब्यक्त गरे । 

उनले मानव यापनको क्रममा किरातीहरुले गरेको जीवन यापन सहित किराती संस्कार संस्कृतीको बारेमा बोल्दै नेपाल बहुजातीय, बहुभाषा, बहुधर्म भएको देश रहेता पनि राज्य संचालन गर्ने हरुको व्याबहार बाट किरातीहरुले अनेकौं पीडा र दमन सहदै आएको बताए भने ठूलो विवाद र असन्तुष्टिको बाबजुद पनि नामकरण गरिएको कोशी प्रदेशलाई खारेज गरि पहिचान सहितको “किराँत” प्रदेश बनाउनको निम्ति पटक-पटक देशमा आन्दोलन भए पनि राज्यले कुनै चासो नदेखाएको बताए ।

याम्फु राइले किरात परम्परा अनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसितिर बसाइँ सर्ने तथा लगाएको अन्नबाली भित्र्याउने समय भएकोले बालीनाली पाकेपछि माङलाई चढाए पछि मात्रै खाने र रमाउने गर्ने यस चाडमा सम्पूर्ण देवीदेवता, जल बायु तथा प्रकृतिको पूजा गर्ने क्रममा तीनराते धार्मिक अनुष्ठान (तङसिङ) गर्ने खुसीयालीमा उधौली चाड मनाउने गरिएको बताए ।

कार्यक्रम अवधिभर दुबै संस्थाका कलाकारहरुले आ-आफ्नो मौलिक सांस्कृतिक झाँकी सम्बन्धित विभिन्न साँस्कृतिक प्रस्तुती पस्किएका थिए भने अन्य प्रस्तुतिहरुमा कमल बिक्रम सुनुवार, सृष्टि तामाङ, जीवन राई, सरिता राई, ज्योती सुनुवार, रोसनी सुनुवार, नेहा सुनुवार, एन्जल राई, सरला तामाङ, लक्ष्मी क्षेत्री, सुनिता राई, बिमल राई, दिया सुनुवार, सुशीला राई, एकराज राई लगायतका कलाकारहरुले गायन तथा नृत्य प्रस्तुत रहेको थियो ।

अन्त्यमा किरात मुल समारोह समितिका संयोजक तथा किरात राई यायोख्खा शाखा कतारका अध्यक्ष कार्यक्रमका सभापति जीवन राईले विभिन्न समस्याका बावजुद पनि कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्णमा धन्यवाद दिदै आगामी दिनमा कतारमा स्थापित सम्पुर्ण किराँती संस्था एकजुट हुँदै आफ्नो भाषा, धर्म सस्कृती, रितिरिवाज जोगाउन सहयोग गर्ने अपेक्षा गर्दै कार्यक्रम समापनको घोषणा गरेका थिए भने कार्यक्रमको सुरुमै कार्यक्रम संयोजक, सह- संयोजक, प्रमुख अतिथि, बिशेष अतिथिहरु सहित सुनुवारको नासो र राईको नछुम लाई फेटा लगाएर सम्मान गर्नुको साथै तमु (गुरुङ) समाजले माइती चेलीको सम्बन्धलाई अझै बलियो बनाउदै कोसेली प्रदान गरेको थियो ।

सन् -२०१३ जुन ०७ मा तत्कालीन किराया शाखा कतारका अध्यक्ष धिरज चाम्लिङ राईको अध्यक्षतामा गठन भइ त्यही समय देखि कतारमा रहेका सम्पूर्ण किरातीहरु एक जुट भएर विभिन्न कार्यक्रमहरु गर्दै संयुक्त रुपमा चाडपर्व मनाउदै आईरहेका थिए तर २०२२ अक्टोबर ६ देखि यता यिनै दुई संस्था किरात राई यायोख्खा शाखा कतार र सुनुवार सेवा समाज कतारले मिलेर किरात चाडपर्वहरु मनाउदै आएका छ्न भने किरात याक्थुङ चुम्लुङ अलग भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्टलाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

सम्बन्धित समाचार