दोहा कतार – “दलित एकता आजको आवश्यकता, छुवाछूत मुक्त समाज निर्माणमा सम्पुर्ण नेपालीहरूको सहभागिता” भन्ने मुल नाराको साथमा कतारमा सन् २०१३ मा स्थापना भएको संस्था दलित एकता संजाल कतारको छैटौं अधिवेशन शुक्रबार भव्य रुपमा सम्पन्न भएको छ ।
संजालका अध्यक्ष किरण परियारको सभापतित्व, गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष राजु रेग्मी (राज) को प्रमुख आतिथ्यतामा सनैया स्थित फुलबारी स्पाइस नेपाली रेष्टुरेन्टको सभाहलमा विधिवत रुपमा सम्पन्न अधिबेशन कार्यक्रमबाट प्रकाश विश्वकर्माको नेतृत्वमा १५ कार्यसमिति र ३ प्रदेश संयोजक गरि १८ सदस्यीय नयाँ कार्यसमितिको टिम चयन भएको हो ।
जसमा अध्यक्षमा प्रकाश बिश्वकर्मा, ब.उपाध्यक्षमा बिमल परियार, उपाध्यक्षद्वय कृष्ण ताम्राकार, दिपक कुमार बि.क, महिला उपाध्यक्षमा कोपिला परियार, महासचिव अमृत बिश्वकर्मा, सचिबमा अम्बर बराईली र ऋषिराम बिश्वकर्मा, महिला सचिबमा अनिता परियार कोषाध्यक्षमा छबिलाल परियार, सह- कोषाध्यक्ष सीता बि.क सर्वसम्मत चयन भएका छन । त्यस्तै सदस्यहरुमा बिष्णु कुमार बि.क, टिकाराम बराईली र प्रकाश परियार चयन भएका छन भने कोशी प्रदेश संयोजकमा डोरेन्द्र बिश्वकर्मा, गण्डकी प्रदेश संयोजक टोप बहादुर बि.क र कर्णाली प्रदेश संयोजक दिनेश बिश्वकर्मा चयन भएका छन ।
नेपाली पन्चेबाजा बजाएर दिप प्रज्वल ब्यानर अनावरण गरि राष्ट्रिय गान बजाए पश्चात् विभिन्न कालखण्डमा देशका निम्ति ज्यानको आहुती दिएका महान शहिदहरुको सम्झनामा मौन धारण सङ्गै औपचारिक रुपमा अघि बढेको कार्यक्रममा उपस्थित सम्पुर्णलाई सम्बोधन गर्दै संजालका वरिष्ठ उपाध्यक्ष प्रकाश विश्वकर्माले स्वागत मन्तव्य राखेका थिए भने संजालका कलाकारहरु प्रताप मुस्कान, पुनम परियार, पुकार थापा र सुधा परियारले संयुक्त स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
बन्द सत्र र खुला गरि दुई चरणमा सम्पन्न कार्यक्रमको खुल्ला सत्रमा उपस्थित भएका मध्य थुप्रै वक्ताहरुले संजालले स्थापना कालदेखि नै गर्दै आएको विभिन्न सामाजिक कार्यहरूको स्मरण गर्दै नयाँ बन्ने कार्यसमिति ले पनि त्यसलाई निरन्तरता दिन्छ भन्ने विश्वासका साथ सफल कार्यकालको शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्ने क्रममै प्रमुख अतिथि रेग्मीले सम्पुर्ण दलित समुदायको हकहित र अधिकारको लागि लड्न र शोषण, दमन, अत्याचार विरुद्ध खबरदारी गर्नको निमित्त स्थापित दलित एकता संजालको अधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागी हुन पाउदा अत्यन्तै खुशी लागेको बताए । उनले नेपालको सन्दर्भमा शहरी क्षेत्रमा केही परिवर्तन आएको भए पनि ग्रामीण भेगमा अझै पनि दलितहरु प्रती हेर्ने नजर र गरिने व्यबहारमा कुनै परिवर्तन नआएको बताउदै संजाल जस्ता दलितहरुको विरुद्ध आवाज उठाउने अरु धेरै संघ संस्था पनि स्थापना भएकाले सबै एकजुट भएर अन्याय अत्याचार विरुद्ध आवाज उठाउन आवश्यक रहेको बताए । रेग्मीले आफु सहभागी विभिन्न कार्यक्रमहरुमा दलित समुदायको साथै अन्य पिछडिएका समुदायहरुको हकहितको लागि बोल्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तर राख्ने बताएका छन ।
अमृत विश्वकर्माले साङ्गीतीक प्रस्तुति र शुभकामना मन्तव्यको राम्रो तालमेल मिलाएर सहजीकरण गरेका खुल्ला सत्र कार्यक्रम अवधिभर लोक तथा दोहोरी गायिका रेश्मी विश्वकर्मा, गंगा विश्वकर्मा, जमुना विश्वकर्मा, कमल दर्नाल, अनिता परियार, अनिल विश्वकर्मा, निलकण्ठेश्वर शर्मा, मनोज बराइली, महेन्द्र विश्वकर्मा लगायतका कलाकारले आ-आफ्नो गायन तथा नृत्य प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । भने संस्थागत प्रगति प्रतिबेदन अमृत विश्वकर्माले नै र आर्थिक गतिविधि कोषाध्यक्ष मानसिङ विश्वकर्माले प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अन्तमा सभापति किरण परियारले कार्यक्रम सफल पार्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद दिदै आफु संजालको नेतृत्वमा रहदै गर्दा निर्णय भएका तर गर्न बाँकी रहेका कामहरुलाई नयाँ बन्ने नेतृत्व टिमले निरन्तरता दिएर अघि बढ्ने बिश्वास राख्दै उपस्थितिको लागी सबैलाई धन्यवाद भन्दै खुल्ला सत्र कार्यक्रमको समापन गरेका थिए ।
खुल्ला सत्र समाप्त भए लगतै संजाल कतारका सल्लाहकार बालकृष्ण भित्रीकोटीको संयोजकत्त्वमा कृष्ण बराल र कृष्ण परियारको ३ सदस्यीय निर्वाचन समितिको रोबरमा नयाँ कार्यसमिति बनेको हो भने नयाँ बनेको कार्यसमितिलाई निर्वाचन समितिका संयोजक भित्रीकोटीले नै गोपनियताको सपथ ग्रहण गराएका थिए ।
खुल्ला सत्र कार्यक्रममा कतारमा स्थापित विभिन्न संघ संस्था, बैचारिक संस्थाका प्रमुख तथा प्रतिनिधि, विशिष्ट व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, व्यवसायीहरु, सामाजिक अभियान लगायत पत्रकार कलाकारहरुको उल्लेखनिय उपस्तिथि रहेको थियो । साथै कार्यक्रममा प्रमुख अतिथि सहित विभिन्न समयमा संजालले गरेको कार्यक्रमहरुमा सहयोग गर्ने व्यक्ति र कलाकार, पत्रकारहरुलाई सम्मान पत्र एवं दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रिया दिनुहोस्