संवाददाता पोखरा: काशी राम सुनार
पोखरा महानगरपालिका–१४, छिनेडाँडा मझेरीपाटन भोटेचौताराका ५३ वर्षीय शिवराज कँडेल बिहिबार अपरान्न १२:३० बजे तिर सामान्य स्वास्थ्य परीक्षणका लागि २३ वर्षीया छोरी सुस्मिता कँडेलको साथमा स्कुटरमा हस्पिटल जाँदै थिए।
तर दुर्भाग्यवश, उनीहरू सवार ग १६ प २०७५ नम्बरको स्कुटर पोखरा ९ बसपार्क पृथ्वीचोक नजिकै पुग्दा ना ५ ख ६२२२ नम्बरको ट्रकले ठक्कर दियो। दुर्घटनामा स्कुटर पछाडि बसेका शिवराज कँडेल गम्भीर घाइते भए भने छोरी सुस्मिता कँडेलको हात र घुँडामा सामान्य चोटपटक लागेको छ। गम्भीर अवस्थामा गण्डकी मेडिकल कलेज पुर्याइएका शिवराज कँडेललाई केही समयपछि चिकित्सकले मृत घोषणा गरे।
शिवराज कँडेल बहुआयामिक व्यक्तित्व थिए—सामाजिक, राजनीतिक, व्यवसायिक तथा कृषकका रूपमा परिचित। नेकपा माओवादी पार्टीबाट वडा नं. १४ को वडा कमिटी नेतृत्व गर्दै उनले १४ नं वडा कमिटीअध्यक्षको जिम्मेवारी समेत वहन गरेका थिए। टोल विकास समितिका अध्यक्ष, मझेरी बचत तथा ऋण सहकारी संस्थाका सचिव, विपन्न परिवारको सहयोगकर्ता र समाजसेवीका रूपमा उनको विशेष योगदान रहँदै आएको थियो कँडेल कोे।
व्यवसायमा पनि कँडेलले निकै मेहनतका साथ सफलता हासिल गरेका थिए। भोटेचौतारामा उनले किराना पसल, राइस मिल लगायत व्यवसाय सञ्चालन गर्दै आएका थिए। त्यति मात्रै होइन, हालै सहिद स्कूल नजिकै माछापालनको तयारीमा समेत जुटेका उनी यो सपना भने अधुरै छाडेर संसारबाट विदा भए।
दुर्घटनापछि सामान्य चोटपटकसहित बाँचेकी सुस्मिता कँडेलको प्रारम्भिक उपचारपछि उनलाई घर पठाइएको छ। घटनामा संलग्न ट्रक र चालक प्रकाश अधिकारीलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ।
शिवराज कँडेलको असामयिक निधनले उनको परिवार, टोल मात्र होइन, सम्पूर्ण समुदायलाई गहिरो शोकमा डुबाएको छ। यही शोकको कारण आगामी पर्सि हुने भनिएको मझेरी बचत तथा ऋण सहकारी संस्थाको कार्यक्रम समेत स्थगित गरिएको छ।
छोरी सुस्मिताले आफ्नो बुबालाई हस्पिटल लैजाँदै गर्दा यस्तो पीडादायी मोड आउनेछ भनेर सायदै कल्पना गरेकी थिइनन्। यो दुर्घटनाले एउटा मेहनती, समर्पित र समाजप्रेमी व्यक्तित्वलाई असमयमै गुमाउनु परेको पीडा समग्र साधना मार्ग भोटे चौतारा मझेरीपाटन ले महसुस गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्