काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष रोजिना प्रधान राईले यसपटकको हरितालिका तीज बाढी तथा पहिरोबाट प्रभावित रसुवा र नुवाकोटका पीडित परिवारप्रति समर्पित गर्ने बताएकी छन्।

रसुवा–नुवाकोटमा गएको भीषण प्राकृतिक विपत्तिले निम्त्याएको अकल्पनीय क्षति आफ्नै आँखाले देखेपछि तीजको रमाइलोभन्दा विपत्तिमा परेका परिवारको पीडा, आँसु र असहाय बालबालिकाको भविष्यले मन छोएको राईले बताएकी छन्।
सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गर्दै उनले तीज हाम्रो संस्कार, उमंग र खुसीको पर्व भए पनि विपत्तिले धेरै परिवारको जीवनमा अन्धकार ल्याएको उल्लेख गरेकी छन्।
एकै क्षणमा जीवनसाथी गुमाएर विधवा हुनुभएका दिदीबहिनीहरू, अभिभावक गुमाएर टुहुरा बनेका बालबालिकाहरू र घर–सम्पत्ति तथा जीवनको आधार गुमाएका परिवारहरूको अवस्था देख्दा दरको थाल र तीजको उत्सव सम्झिनै सकिनँ,” उनले भनेकी छन्।
उनले यसपटक आफ्नो तीज रसुवा–नुवाकोटका बाढी तथा पहिरो प्रभावित दिदीबहिनी, दाजुभाइ र बालबालिकाप्रति समर्पित रहेको बताएकी छन्।

राईले आफ्नो तीजको दर पीडित परिवारका लागि राहत बन्न सकोस् र आफ्नो व्रत उनीहरूको जीवन छिट्टै सामान्य अवस्थामा फर्कियोस् भन्ने प्रार्थना बन्न सकोस् भन्ने कामना गरेकी छन्।
उहाँहरूको आजको पीडालाई भोलिको आशामा बदल्न सकूँ, यही मेरो तीजको संकल्प हो,” उनले सन्देशमा उल्लेख गरेकी छन्।




प्रतिक्रया दिनुहोस्