तिलोचन गौतम क्वालालम्पुर
मलेसियामा लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ परी लामो समय जेल जीवन बिताएका नुवाकोट बर्सुन्चेत–१ का हरि बहादुर घले २४ वर्षपछि स्वदेश फर्किएका छन्।
सन् २००३ मे ३० मा मलेसियाको क्वालालम्पुरस्थित एक होटलबाट पक्राउ परेका घलेमाथि लागुऔषध कारोबारसम्बन्धी अभियोग लागेको थियो। प्रहरीले उनको साथबाट ८७५ ग्राम हेरोइन बरामद भएको दाबी गरेको थियो। घलेले भने उक्त लागुऔषध आफ्नो नभएको र अर्का नेपाली नागरिक गणेश तामाङको भएको दाबी गर्दै आएका थिए।
मलेसियाको उच्च अदालतले सन् २००९ मा घलेलाई मृत्युदण्डको फैसला सुनाएको थियो। त्यसविरुद्ध गरिएको अपिलमा मलेसियाको सर्वोच्च अदालतले पनि सन् २०१२ मा उच्च अदालतको फैसला सदर गरेको थियो। त्यसपछि घले लामो समय मृत्युदण्डको जोखिममा जेल जीवन बिताउन बाध्य भएका थिए।
घलेको जीवनरक्षाका लागि नेपालमा परिवार तथा विभिन्न सरोकारवालाले लामो समयदेखि पहल गर्दै आएका थिए। नेपाल सरकारका तर्फबाट पनि मलेसिया सरकारसँग कूटनीतिक पहल भएको थियो। तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले समेत घलेको जीवनरक्षाका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए।
घलेको परिवारले उनको रिहाइ तथा जीवनरक्षाका लागि सार्वजनिक रूपमा अपिलसमेत गरेको थियो। एम्नेस्टी इन्टरनेसनल नेपालले समेत घलेको परिवारसँग सहकार्य गर्दै मृत्युदण्डविरुद्ध अभियान चलाएको अभिलेखमा उल्लेख छ।
पछि उनको मृत्युदण्डको सजाय परिवर्तन भई जेल सजायमा परिणत भएको र लामो कानुनी प्रक्रियापछि उनी डिटेन्सन सेन्टरमा रहेका थिए।
२४ वर्षपछि स्वदेश फर्कने क्रममा भने घलेलाई हवाई टिकटको समस्या परेको थियो। उनको अवस्थाबारे जानकारी पाएपछि मलेसियामा व्यवसाय गर्दै आएका तथा RTFC फुटबल क्लबका अध्यक्ष राजु तामाङले सहयोगको पहल गरेका थिए। तामाङले सेप्टेम्बर २४ तारिखको Batika Air को हवाई टिकट उपलब्ध गराएपछि घले नेपाल फर्कन सफल भएका हुन्।
लामो समय मलेसियामा जेल तथा हिरासतमा बिताएपछि परिवारसँग पुनर्मिलन हुने गरी स्वदेश फर्किएका घलेको जीवनको यो घटना मलेसियामा रहेका नेपाली श्रमिकका लागि लामो कानुनी संघर्ष र कूटनीतिक पहलको एउटा उदाहरण बनेको छ।
घलेलाई स्वदेश फर्काउन सहयोग गरेका व्यवसायी तथा RTFC फुटबल क्लबका अध्यक्ष राजु तामाङप्रति परिवार तथा आफन्तले आभार व्यक्त गरेका छन्।




प्रतिक्रया दिनुहोस्