गाजा — मध्यपूर्वमा धेरै समयदेखि चलिरहेको हिंसात्मक संघर्ष शान्त हुने संकेत देखिन थालेको छ। प्यालेस्टिनी समूह हमासले अमेरिकाका विशेष दूत स्टिभ विटकफले ल्याएको युद्धविराम प्रस्ताव स्वीकार गरेको छ।
हमासका एक अधिकारीले रोयटर्ससँग कुरा गर्दै यो प्रस्ताव दुबै पक्षका लागि समाधानतर्फको महत्त्वपूर्ण पाइला भएको बताएका छन्। प्रस्ताव अनुसार हमासले दुई चरणमा गरेर कुल १० जना इजरायली बन्धकहरूलाई रिहा गर्न सहमति जनाएको छ। यसको सट्टामा इजरायलले ७० दिनसम्म युद्धविराम गर्नुपर्नेछ र गाजाबाट आफ्ना केही सेना फिर्ता गर्नुपर्नेछ। साथै, इजरायलले सयौँ प्यालेस्टिनी कैदीहरूलाई पनि रिहा गर्नुपर्नेछ, जसमा कैयौँ वर्षौंदेखि जेलमा रहेका कैदीहरू छन्।
गाजामा महिनौँदेखि जारी हिंसात्मक भिडन्त, हजारौँको मृत्यु, लाखौँको विस्थापन र अस्पतालहरू ध्वस्त भइरहेका बेला यो प्रस्ताव एक किसिमको मानवीय आशाको उज्यालो बनेर आएको छ।
यद्यपि इजरायली सरकारले हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन। प्रधानमन्त्री नेतान्याहूको सरकार यो प्रस्ताव स्वीकार गर्छ कि गर्दैन भन्ने कुरा अझै प्रस्ट छैन। अर्कातर्फ, अमेरिका पनि घटनाक्रमलाई नजिकबाट हेर्दैछ।
स्टिभ विटकफको पहलमा तयार गरिएको यो प्रस्ताव विभिन्न चरणका वार्ता र अन्तर्राष्ट्रिय दबाबको नतिजा मानिएको छ। यदि यो सम्झौता पूर्ण रूपमा लागू भयो भने गाजामा शान्तिको दिशामा यो एक निर्णायक कदम हुने विश्वास गरिएको छ। रातो पाटी बाट साभार



			
                            
                            
                            
                            
प्रतिक्रया दिनुहोस्