दोहा,कतार- नेपालको जेन-जी आन्दोलनमा ज्यान गुमाएका सहिदहरुको सम्मान स्वरूप कतारमा श्रद्धाञ्जली तथा शोकसभा कार्यक्रम सम्पन्न भएको छ ।
गत भाद्र २३ र २४ गते नेपालमा जेन-जी पुस्ताले गरेको आन्दोलनमा ज्यान गुमाएका शहिदहरुको सम्मान स्वरुप नेपाल सरकारले असोज १ गतेलाई राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरे पछी गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले बुधबार साँझ मुन्ताजा पार्क स्थित गोर्खाली रेष्टुरेन्टको सभाहलमा श्रद्धाञ्जली तथा शोकसभा कार्यक्रम सम्पन्न गरेको हो ।
एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनसीसी कतारका प्रमुख सल्लाहकार रमेश भट्ट सहित गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद तथा एनसीसी कतारका पदाधिकारी सहित विशिष्ट सामाजिक व्यक्तित्व, बुद्धिजीवी हरुको विषेश उपस्थिति रहेको थियो ।
शोकसभा कार्यक्रममा उपस्थित भएका सबैले आन्दोलनमा ज्यान गुमाएका सम्पुर्ण जेन-जी सहिदहरु लाई सम्झिदै एक मिनेट मौन धारण सङ्गै १०१ मैनबत्ति जलाई पालैपालो फोटोमा माल्यार्पण गरि श्रद्धा सुमन अर्पण गरेका थिए ।
संघका महासचिव विवेक पुलामी मगरले सहजीकरण गरेका कार्यक्रममा द्वितीय उपाध्यक्ष सन्तोष पौडेलले शोक मन्तव्य राखेका थिए भने एनसीसी कतार एवं नेपाल व्यवसायी संघ, कतारका कानुनी सल्लाहकार प्रा. मोहम्मद रमजान अलि मियाले सभालाई सम्बोधन गरेका थिए । उनले जेन-जी आन्दोलन आफैले प्रत्यक्ष देखेको अनुभव सुनाउदै जेन-जी पुस्ताले नेपालमा भएको अहिलेको व्यवस्था देखि दिक्क भएर साच्चिकै परिवर्तनको लागि लडेको बताए ।
शोकसभा कार्यक्रमको अन्तमा अध्यक्ष पन्थीले करिब २७ घन्टामै सत्ता पल्टाउने युवा शक्तिको रुपमा पहिलो पटक नेपालका जेन-जी टिमले विश्व रेकर्ड राखेको बताए भने अब त्यही आन्दोलनमा सहिद भएका कलिला युवाहरुको राष्ट्रप्रतिको बलिदानलाई सम्झेर सम्पुर्ण नेपालीहरुले व्यवस्था परिवर्तन सङ्गै समृद्ध नेपाल निर्माणमा एक ढिक्का भएर लाग्नु पर्ने बताए ।
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रया दिनुहोस्