अर्थमन्त्री जनार्दन शर्मा भन्छन अलग अलग पार्टीले स्थायीत्व दिन सकेनन

अर्थमन्त्री जनार्दन शर्माले अलग अलग पार्टीले देशमा राजनीतिक स्थायीत्व दिन नसक्ने पुष्टी भएको बताउनुभएको छ । नेपाल उद्योग व्यापार महासंघ चितवनको ५ औँ जिल्ला सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले गठबन्धनलाई ५–१० वर्षसम्म सहकार्य गरेर जाने गरी अगाडी बढाउनुपर्ने बताउनुभएको छ । “अलग अलग पार्टीले राजनीतिक स्थायीत्व दिन्छ की भनेर धेरै मिहेनत गरियो, काम लागेन, फेल भयो”, उहाँले भन्नुभयो, “राजनैतिक बाध्यताले गठबन्धन बनेको हो । ५–१० वर्ष सहकार्य गरेर अगाडी बढ्नुपर्छ ।” उहाँले राजनीतिक स्थायीत्व भएमा मात्रै आर्थिक विकास र प्रगती हुने बताउनुभयो ।

उहाँले अहिलेको बजेटले व्यापार भन्दा उत्पादनलाई प्राथमिकतामा राखेर क्रमभंग गरेको दाबी गर्नुभयो । “व्यापारमा अल्झिरहेको अर्थतन्त्रलाई उत्पादनतिर सिफ्ट गर्दा हलचल भयो”, उहाँले भन्नुभयो, “अहिलेको बजेटले उत्पादनमा जान उद्योग, कृषि, पर्यटन लगायतका क्षेत्रमा प्रथामिकता दिएको छ । आर्थिक अवस्थालाई स्थिरततिर लैजाने लक्ष्य लिएको छ ।”

उहाँले रेमिट्यान्स र भन्सारबाट आउने राजश्वका भरमा नभई आन्तरिक उत्पादनमा आधरित राजश्वको भरमा चल्ने बनाउनुपर्ने देखिएको बताउनुभयो । उहाँले चितवनबाट ४५ मिनेटमै काठ्माण्डौ पुग्ने गरी छिटै द्रुतमार्ग निर्माण हुने बताउनुभयो । “बजेटमा यो योजना भाषण गर्न भनिएको होइन, काम गर्न राखिएको योजना हो”, उहाँले भन्नुभयो, “काम सुरु भएको छ । छिटै अन्र्तराष्ट्रिय टेण्डर हुनेछ ।” द्रुतमार्ग बनेपछि चितवनको विकासले छर्लाङ मार्ने बताउनुभयो ।

 

नेपाल उद्योग व्यापार महासंघ चितवनको अध्यक्ष विष्णु
नेपाल उद्योग व्यापार महासंघ चितवनले नयाँ नेतृत्व पाएको छ । ५ औँ जिल्ला सम्मेलनबाट अध्यक्षमा विष्णुप्रसाद पौडेल चयन हुनुभएको छ । उपाध्यक्षमा किशोर बगाले, विश्वमित्र श्रेष्ठ, सचिवमा गोविन्द अर्याल, कोषाध्यक्षमा जयराम खत्री चयन हुनुभएको छ । यस्तै सहसचिवमा दिनेश सेढाई, सहकोषाध्यक्ष केदारबहादुर कार्की चयन हुनुभएको छ ।

सम्मेलनले २२ सदस्यीय कार्यसमिति चयन गरेको निर्वाचन समिति संयोजक विश्वनाथ ओझाले जानकारी दिनुभयो । यस्तै पालिकाको प्रतिनिधित्व गर्ने गरी ६ जना पदेन सदस्यहरु चयन भएका छन् ।

 

सम्बन्धित समाचार