दोहा,कतार- प्रवासी भुजेल समाज, कतारको आयोजनामा आगामी २५ सेप्टेम्बर शुक्रबारका दिन एक बृहत रक्तदान कार्यक्रम हुने भएको छ। “रक्तदान जीवन दान” भन्ने पवित्र मानवीय नारालाई आत्मसात गर्दै आयोजना गर्न लागिएको उक्त कार्यक्रम नेपाली रक्तदाता संघ, कतारको विशेष समन्वयमा हुन लागेको हो ।
हमाद हस्पिटल अन्तर्गतको कतार नेसनल ब्लड डोनेट सेन्टरमा बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुने सो कार्यक्रममा उपस्थित भई रक्तदान गर्न समाजका अध्यक्ष सन्तोष भुजेलले सबैमा हार्दिक आह्वान गर्नुभएको छ। कतारमा स्थापित सम्पूर्ण वैचारिक, सामाजिक, व्यावसायिक, सामुदायिक तथा साहित्यिक संघ-संस्थाका प्रतिनिधिहरूका साथै दोहावासी नेपाली समुदायलाई उपस्थित भई यस परोपकारी कार्यलाई सफल बनाइदिन अध्यक्ष भुजेलले अनुरोध समेत गर्नुभएको छ।
“भुजेल जातिको विकास र उन्नतिको आधार सांस्कृतिक चेतना, शिक्षा र रोजगार” भन्ने मूल नाराका साथ सन् २०१० मा स्थापना भएको प्रवासी भुजेल समाजले कतारमा आफ्नो स्थापना कालदेखि नै निरन्तर रूपमा यस्ता विभिन्न सामाजिक, सांस्कृतिक तथा परोपकारी कार्यहरू गर्दै आइरहेको छ।
एक थोपा रगतले कसैको जीवन रक्षा गर्न सकिने भएकाले कतारमा रहेका सम्पूर्ण नेपालीहरूलाई उपस्थित भई यस महान मानवीय कार्यको हिस्सा बन्न आयोजक समितिले हार्दिक अपिल गरेको छ।




प्रतिक्रया दिनुहोस्