विप्लवको चेतावनी एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्छ

काठमाडौँ,

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै महासचिव चन्दले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको हो । उहाँले देशमा चुनावको नाममा राष्ट्रवादी र राष्ट्रघातीहरुको बिचमा ध्रुविकरण भइरहेको उल्लेख गर्दै आफुहरु प्रगतिशिल, देशभक्त र क्रान्तिकारी शक्तिहरुलाई एकतावद्ध गराउन गाउँमा पुग्नुपर्ने बताउनुभयो ।

उहाँले एमसीसीको पक्षधरहरुलाई दलाल पुँजिपति वर्गको संज्ञा दिदैँ उनीहरु विरुद्धको लडाइँलाई गाउँसम्म पु¥याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘आज नेपालमा एउटा लडाइँ चलिरहेको छ । एउटा ध्रविकरण चलिरहेको छ । राष्ट्रघात गर्ने मान्छेहरु अनेक किसिमको खेल लिएर आएका छन् र अहिले चुनावको एउटा हतियार चलिरहेको छ ।

प्रयोग भइरहेको छ । नेपाल ध्रुविकरण हुँदैछ । देशभक्त र देशघातीहरुको बिचमा । राष्ट्रवादी र राष्ट्रघातीहरुको बिचमा । दलाल र स्वाभिमानी नागरिकको बिचमा एउटा ध्रुविकरण हुँदैछ ।

यो प्रक्रियालाई हामीले तिव्रता दिनुपर्छ । हामीले गाउँ–गाउँसम्म पु¥याउनुपर्छ । र हाम्रो पार्टीको सोचाइ छ की यो लडाइँमा पनि हामीले प्रगतिशिल शक्तिहरुलाई, देशभक्त शक्तिहरुलाई, क्रान्तिकारी शक्तिहरुलाई एकतावद्ध गराउन गाउँसम्म जानुपर्छ र राष्ट्रघाती, एमसीसी पक्षधर, देश बेचेर खाने या देशलाई संसदबाट आफ्नो एकाधिकार जसरी बेच्न खोज्ने दलाल पुँजिपति वर्गको विरुद्धको लडाइँमा गाउँ सम्म पु¥याउनुपर्छ र हामीले भनेका छौँ एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान हामीले सञ्चालन गर्नुपर्छ ।

भोलि बिहानैबाट ढुंगा, मुढा, लाठा, बन्दुक, गोली यो होइन । तर यो निश्चित हो कि जनतालाई हामीले अपिल गर्नुपर्छ । जसले संसदबाट हाम्रो देशको विरुद्ध अपराध गरेका छन् ।

जसले यो देशलाई विभिन्न तरीकाले मालिकहरुसँग मिलेमतो गरेर लिलाम गर्न खोजेका छन् । त्यो राष्ट्रघाती प्रवृत्ति, त्यो देशघाती प्रवृत्तिको विरुद्धमा क्रान्तिकारीहरुको नयाँ नयाँ मोर्चाद्वारा एकतावद्ध गर्ने, जनतालाई ध्रुविकृत गर्ने, आफ्नो देश र आफ्नो अधिकारको पक्षमा गोलवन्द गर्ने प्रक्रियालाई अगाडी बढाउनुपर्छ ।’

उहाँले एमसीसी सम्झौतालाई संसदको स्वीकृति र कुनै कानूनी मान्यताले लागु गर्न नसकिने बताउनुभयो । कसैको आत्मसर्मपणले नेपालमा एमसीसी लागु हुन नसक्ने उहाँले दाबी गर्नुभयो । महासचिव चन्दले एमसीसीको विरुद्धमा नयाँ मोर्चा खोल्नुपर्ने र यसलाई कुनैपनि मुल्यमा रोक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘एमसीसीलाई कुनै कानूनी मान्यताले लागु गर्न सकिदैनँ ।

कुनै संसदको स्वीकृतिले एमसीसीलाई लागु गर्न सकिदैनँ । कुनै दलालहरुको आत्मसर्मपण र लाहा छापले नेपालमा एमसीसी लागु हुन सक्दैन । एमसीसीको विरुद्धमा नयाँ मोर्चा खोल्नुपर्छ । कुनैपनि मुल्यमा त्यसलाई रोक्नुपर्छ र नेपालबाट साम्राज्यवादको अतिक्रमणलाई रोक्नुपर्छ ।’

उहाँले नेपालको संसद र संसदवादी दलहरु नेपाली स्वाधिनता जोगाउन असफल भएको बताउनुभयो । नेपाली जनताको आकांक्षाहरु पुरा गर्ने जिम्मा कम्युनिष्ट, क्रान्तिकारीहरुको काँधमा आएको उहाँको भनाई छ ।

सम्बन्धित समाचार