कर्णालीमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस आइतबारदेखि आरम्भ

कर्णाली,

कर्णालीमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस आइतबारदेखि आरम्भ भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरु भएको बहसमा कर्णालीको पूर्वाधार, कृषि, जलविद्युत्, खनिज, जडिबुटीका विषयवस्तुमा छलफल भइरहेको छ । बहसको क्रममा आइतबार बेलुका कर्णाली राजमार्गको स्तरवृद्धि, सुरक्षित यात्रा, न्यायोचित भाडादर, ट्राफिक नियम तथा चेकजाँचलगायतका विषयमा छलफल भयो ।

छलफलमा सहभागीहरुले कर्णाली राजमार्गको स्तरवृद्धि कहिले हुन्छ मन्त्रीज्यू ? भनेर प्रश्न गरेका थिए । यसमा प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायले कर्णाली राजमार्गको स्तरवृद्धि गर्ने अधिकार प्रदेश सरकारसँग नभएको जानकारी गराउनुभएको थियो ।

कर्णाली राजमार्ग सङ्घ सरकार मातहत हुँदा प्रदेश सरकारको आवश्यकतामा विकास गर्ने अधिकार नभएको उहाँले बताउनुभयो । “राजमार्ग दुईलेनको हुन नसक्दा बर्सेनि दुर्घटनाबाट मानिसको ज्यान जाने गरेको छ”, उहाँले भन्नुभयो, “तर यसको निर्माण स्तरोन्नति गर्ने अधिकार प्रदेश सरकारसँग छैन ।

”यसको विषयमा बारम्बार सङ्घ सरकारसँग अनुरोध गर्दा सुनुवाइ नभएको उहाँको भनाइ थियो । यद्यपि प्रदेश सरकारले भने अहिले १० मिटर लम्बाईका सडक निर्माण गर्ने नीतिलाई अगाडि सारेको मन्त्री रोकायले बताउनुभयो ।

प्रदेश सरकार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले यतिबेला कर्णाली राजमार्गलगायत विभिन्न जिल्लाको स्थलतगत अनुगमन गरी त्यहाँका वास्तविक अवस्था बुझेको र आगामी वर्षमा पूर्वाधार विकासका क्षेत्रमा ठोस योजना बनाएर अघि बढ्ने उहाँको भनाइ थियो ।

कनकासुन्दरी गाउँपालिका जुम्ला र चौकुन गाउँपालिका सुर्खेतका अध्यक्षद्वय नरबीर रावल र धीरबहादुर शाहीले पालिकास्तरमा स्थानीय सरकारले सबै वडामा मापदण्डअनुसार सडक सञ्जा पु¥याएको बताउनुभयो । अध्यक्ष शाहीले आफ्नो पालिकाका सबै वडामा सडक पु¥याएको भन्दै बरु सम्बन्धित निकायले सडक सञ्चालनको अनुमति दिन आग्रह गर्नुभयो ।

कर्णाली प्रदेश ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भूमेश्वर तिवारीले भौगोलिक विकटता, रोड इन्जिनियरिङ राम्रो नहुँदा र अनुमति प्रणाली कमजोर भएकोले सडक दुर्घटनामा बढेको बताउनुभयो । उहाँले सडक सुरक्षा, ट्राफिक व्यवस्थापन कसरी गर्ने भन्ने विभिन्न योजना बनाएर अगाडि बढ्ने तयारी गरिएको जनाउनुभयो ।

उद्योग वाणिज्य सङ्घ सुर्खेतका महासचिव लक्ष्मण कँडेलले विकासको सञ्जालीकरणका लागि पूर्वाधार निर्माण आवश्यक रहेको जनाउनुभयो । काक्रेविहार यातायात प्रालि सुर्खेतका अध्यक्षले सरकारले निर्माण गर्ने सडकको मापदण्ड नपुग्दा दुर्घटना बढेको बताउँदै यातायातमा मनोमानी भाडा लिनेलाई कारबाही गर्ने र सबैले देख्ने गरी भाडादरको सूचना बोर्ड राख्ने बताउनुभयो ।

दोभान मल्टिमिडियाको आयोजना र कर्णाली प्रदेश सरकार, उद्योग वाणिज्य महासङ्घ, कर्णाली प्रदेश, होटल एशोसिएशन कर्णाली प्रदेश, नाट्टा कर्णाली प्रदेश, गैरसरकारी संस्था महासङ्घलगायतका सङ्घ÷संस्थाको सहयोगमा सञ्चालन भएको उक्त कार्यक्रम भोलिसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । (रासस)

सम्बन्धित समाचार