माछापुच्छ्रे फेवातालको यसरी हुँदै छ हरिबिजोग ?

कास्की, चैत २५ । ‘फेवातालको आँगनमा लैलै माछापुच्छ्रे छायाँ ।’ यस बोलको गीत वा फेवातालमा माछापुच्छ्रेको छायाँ देखिने पोस्टकार्ड र तस्बिरबाट फेवाताल चिन्नेका लागि अब ती पहिचान मात्र पर्याप्त हुँदैनन् ।

 

 

फेवातालको सौन्दर्यभन्दा अर्को पहिचान पनि थपिएको छ । पहिलेका पहिचान देशका लागि नै मूल्यवान् भए पनि बेलैमा सजग नभए पछिल्लो पहिचानको मूल्य भने देशले चुकाउनुपर्ने देखिएको छ । पछिल्लो पहिचान दिने दृश्य हेर्न फेवाताल थुन्न बाँध बाँधिएको स्थान फेवातालको पुछारमा जानुपर्छ ।

 

यो त्यही स्थान हो जहाँ माछापुच्छ्रेको छायाँ पर्ने गर्दछ तर प्रदूषणले गर्दा कञ्चन फेवाताल र माछापुच्छ्रेको छायाँ देख्न अचेल मुस्किल पर्छ ।

माछापुच्छ्रेको छायाँ तैरिने पानीमा अचेल थोत्रा जुत्ताचप्पल, प्लास्टिकका बोतल र थुप्रै खाले फोहोर तैरिन्छन् ।

 

तालको त्यस भागमा एउटा नाली आएर मिसिएको छ । त्यसैले ती फोहोर सिधै तालमा ल्याएर मिसाउँछ । यस्तो फोहोर ल्याउने काम त्यो नालाबाट मात्रै सीमित छैन । वाराहीघाट, गौरीघाट, फेवाघाट, पहारीघाटलगायत धेरै ठाउँमा त्यसरी नै सहरको नाला सिधै फेवातालमा सोझिएको छ ।

 

ती नालीले सधैँ प्लास्टिकजन्य फोहोर ल्याउँछन् र ताललाई फोहोर पार्छन् । कहिलेकाहीँ त मरेका जीवजन्तु पनि तिनै नालामा बगेर तालमा आईपुग्ने गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

सम्बन्धित समाचार