अन्तिम विकल्पमा मर्जर : बीमा कम्पनीको पूँजी वृद्धि योजना

काठमाडौं, बैशाख १२। बीमा समितिले मर्जरमा लैजाने उद्देश्यसहित बीमा कम्पनीहरूको चुक्तापूँजी बढाउने निर्णय गरे पनि बीमकहरू मर्जरमा आकर्षित नभएको देखिएको छ । चुक्तापूँजी बढाउने क्रममा अधिकांश कम्पनीले मर्जरलाई अन्तिम विकल्पको रूपमा अघि सारेका छन् ।

 

 

बीमा कम्पनीले चुक्तापूँजी बढाउने योजना (क्यापिटल प्लान) समितिमा बुझाउनुपर्ने अन्तिम दिन आइतवार थियो । सो दिनसम्ममा ३९ मध्ये २४ कम्पनीले क्यापिटल प्लान पेश गरेका छन् । त्यसमा अधिकांशले बोनस शेयरमार्फत पूँजी बढाउने योजनालाई पहिलो नम्बरमा राखेका छन् । हकप्रद शेयर दोस्रो नम्बरमा छ । यी दुई तरीकाले तोकिएको पूँजी पुग्ने अवस्था नआएमात्र उपयुक्त कम्पनी छनोट गरेर छानेर मर्जरमा जाने गरी कम्पनीहरूले क्यापिटल प्लान पेश गरेको बीमा समितिले जानकारी दिएको छ ।

 

बीमा कम्पनीका अधिकारीहरू पनि पहिलो नम्बरमा बोनस शेयर र दोस्रोमा हकप्रद शेयरलाई पूँजी बढाउने विकल्पको रूपमा अघि सारिएको बताउँछन् । त्यसले तोकिएको पूँजी नपुग्ने अवस्था आएमात्र मर्जर रोज्ने उनीहरूको भनाइ छ ।

 

‘हामीले यसरी नै चुक्तापूँजी बढाउने भनेर समितिमा क्यापिटल प्लान पेश गरेका छौं । अब त्यसमा समितिले कस्तो प्रतिक्रिया जनाउँछ, त्यहीअनुसार पूँजी वृद्धिको योजना अगाडि बढ्न सक्छ,’ एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले भने, ‘चुक्तापूँजी बढाउन दिइएको समय एकदम कम छ । त्यो अवस्थामा बोनस शेयरमार्फत पूँजी पुर्‍याउन सम्भवै हुँदैन । हकप्रद नै उपयुक्त विकल्प हुन सक्छ । त्यसपछि पनि भएन भने मर्जरबारे सोच्नेछौं ।’

 

बीमा समितिले गत चैत १० गते बीमा कम्पनीहरूलाई चुक्तापूँजी बढाउन निर्देशन दिएको थियो । हाल जीवन बीमा कम्पनीको चुक्तापूँजी न्यूनतम २ अर्ब र निर्जीवनको १ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ । आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीको ५ अर्ब र निर्जीवनको २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी हुनुपर्छ । त्यसका लागि ३० दिनभित्र क्यापिटल प्लान पेश गर्न समितिले निर्देशन दिएको थियो ।

 

क्यापिटल प्लान बुझाउने अन्तिम दिन आइतवारसम्ममा २४ कम्पनीले योजना पेश गरेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

सम्बन्धित समाचार