खाएको विष पो लाग्छ, नखाएको विष किन भन्दै जनार्दन शर्मामाथि छानबिनबारे प्रचण्ड जंगिए

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई ल्याएर करको दर हेरफेर नगरेको प्रमाणित भएको दाबी गर्नुभएकाे छ ।

आज शुक्रवार प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संसदीय विशेष छानबिन समितिको रिपोर्टले शर्मालाई निर्दोष देखाएको बताउनुभयाे ।

 

अध्यक्ष दाहालले तत्कालीन अर्थमन्त्री शर्मा र अर्थ मन्त्रालयको कुनै गल्ती नभएको छानबिन समितिको प्रतिवेदन आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘बजेट राम्रो छ भन्ने हुँदैथ्यो । सबैले त्यसलाई स्वागत गर्दै थिए । अर्थ मन्त्रीले राति १२ बजे अनधिकृत मान्छेलाई ल्याएर करका दरमा हेरफेर गर्‍याे र यसलाई कारबाही गर्नुपर्छ भनेर यति धेरै प्रचार गरियो ।

हामीले, अझ अध्यक्षकाे हैसियतले छानबिन गर्नु भनेँ, खाएको विष पो लाग्छ, नखाएको विष त लाग्दैन । संसदीय छानबिन नै सही भनियो । छानबिनको १० दिन समय दिइयो फेरि सात दिन थपियो । आज समितिले बुझाएकाे प्रतिवेदनमा उहाँ निर्दोष हुनुहुन्छ । केही प्रमाण छैन । अब प्रमाणित भइसक्यो ।’

 

संसदीय समितिले प्रतिवेदन पेस गर्दै गएकाे जेठ १४ गते बजेट निर्माणका क्रममा कुनै अनधिकृत व्यक्ति प्रवेश नगरेको उल्लेख छ । यद्यपि नेकपा एमालेका सांसदहरूले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई सफाइ दिने गरी प्रतिवेदन आएको भन्दै विरोध जनाएका छन् ।

सम्बन्धित समाचार