नेपाली कांग्रेस नसप्रिएकोमा मलाई त अचम्म लाग्छ : अध्यक्ष केपी शर्मा ओली

काठमाडौं, भदौ ७ । एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘सत्तारूढ दल नेपाली कांग्रेस नसप्रिएकोमा अचम्म लागेको’ टिप्पणी गरेका छन् ।पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा सोमबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेससहित सत्तारूढ दलको चर्को आलोचना गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

 

 

‘नेपाली कांग्रेस उहिलेदेखि अहिलेसम्म नसप्रिएकोमा अचम्म लाग्छ । लोकतन्त्र भनेको फरक विचार मान्नु, सुन्न सक्नु र फरक पार्टीको अस्तित्व स्वीकार्न सक्नु हो,’ ओलीले भने, ‘तानाशाहीले फरक विचार सुन्न सक्दैन, सहन सक्दैन । सहअस्तित्व मान्दैन, एकलौटी भन्छ । अहिलेको गठबन्धन ठ्याक्कै त्यही भन्छ ।’

 

आफूले प्रतिस्पर्धात्मक व्यवस्था छानेको बताउँदै उनले ‘प्रतिस्पर्धाका लागि अर्को पार्टी चाहिने र अहिलेको गठबन्धनले अर्को दलको कुरा सुन्न र सहन नसक्ने’ जिकिर पनि गरे ।

 

 

‘राजनीतिलाई दुस्मनी बनाएको छ । गठबन्धन असहिष्णु र असहनशील छ । एमालेले कहीँ पनि बुथ कब्जा गर्न नपर्ने, छिमेकीलाई केही नगर्ने तर उनीहरूले पहिले मत पत्र चपाउने, बत्ती बन्द गर्ने गर्थे । यसपल्ट मान्छे नै मारे । अस्तिको चुनावमा कति मान्छे मरे रु’ ओलीले प्रश्न गर्दै भने ।

डा। बाबुराम भट्टराईले हालै गठन गरेको नेपाल समाजवादी पार्टी उपाध्यक्ष दानबहादुर चौधरीसहितका नेतालाई ओलीले पार्टीमा प्रवेश गराए । १५ वर्षअघि एमालेमै रहेका चौधरी यसबीच एमाले परित्याग गरी मधेसवादी राजनीतिक दलमा आबद्ध थिए ।

 

केही दिनअघि रौतहट गौरमा पुगेर अध्यक्ष ओलीले मधेसवादी राजनीतिक दलमा आबद्ध गौरका पूर्वप्रमुख अजय गुप्तालाई एमाले प्रवेश गराएका थिए । लोकतान्त्रिक समाजवादी पार्टीमा आबद्ध रहेका गुप्तालाई एमाले स्थायी कमिटी सदस्य प्रभु साहले पहल गरी एमाले भित्र्याएका हुन् । राजधानी दैनिकबाट

सम्बन्धित समाचार