कुलमान भन्छन्:बङ्गलादेशले भारतबाट बिजुली सस्तोमा पाउँछ भने नेपालकाे किन किन्छ

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको जलविद्युत् महँगो भए भारत र बङ्गलादेशमा निर्यात नहुने बताउनुभएको छ ।

 

आज बुधवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्राेत समितिले तनहुँ जलविद्युत् आयोजना र रहुगङ्गा जलविद्युत् आयोजनाका सम्बन्धमा भएको छलफलमा बोल्दै घिसिङले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय जलविद्युत् आयोजना बनाउने क्रममा सरकारको नीति नियमका कारण परियोजना महँगो हुँदै गएको बताउनुभयो ।

 

उहाँले भन्नुभयो, ‘जलविद्युतलाई कति सस्तो बनाउने भन्ने कुरा नेपाल सरकारकै गतिविधिले गर्छ । जलविद्युत् सस्तो भयो भने भारत र बङ्गलादेशमा निर्यात हुन्छ । भारतको भन्दा नेपालको जलविद्युत् महँगो भयो उता निर्यात हुँदैन । यसरी नै हामीले आयोजनाहरू मँहगो बनाउँदै जाने हो भने जनतालाई पनि महँगो पर्छ । नेपालको विद्युत् निर्यात हुन पनि गाह्रो पर्छ । बङ्गलादेशले भारतबाट बिजुली सस्तोमा पाउँछ भने नेपालकाे किन किन्छ ? त्यसैले यो गम्भीर रूपले हेनुपर्ने विषय हो ।’

 

घिसिङले ५० अर्बको तनहुँ जलविद्युतमा झन्डै तीन अर्ब वन र सरकारी जग्गामा तथा निजी जग्गामा तीन अर्ब गरी ६ अर्ब रुपैयाँ मुआब्जामा नै खर्च भएको बताउनुभयो । उहाँले सरकारकै जग्गाका लागि आयोजनाको ६ प्रतिशत लागत बढ्नु भनेको आयोजनाबाट उत्पादन हुने बिजुली महँगो हुनुभएको बताउनुभयो ।

 

कार्यकारी निर्देशक घिसिङले सरकारले नै आयोजनाहरू महँगो बनाउँदै जाने हो भने जलविद्युत् जनतालाई समेत महँगो पर्ने बताउनुभयो । प्राकृतिक स्रोत प्रयोग गरेमात्रै जलविद्युत् सस्तो पर्ने हुँदा स्रोतहरूको प्रयोग गर्ने नीति आवश्यक रहेको उहाँकाे भनाइ छ ।

उहाँले कालीगण्डकीको कुनै पनि स्रोत प्रयोग गर्न नपाए कालीगण्डकी काेरिडोरमा कुनै पनि परियोजना सस्तोमा बन्न नसक्ने बताउनुभयो । घिसिङले परियोजना बनाउने स्थानमा भएका स्रोतको आवश्यकताअनुसार प्रयोग गरेमात्रै त्यसबाट पैसा आउने दाबी गर्नुभयो ।

 

सम्बन्धित समाचार