उपमेयर डंगोल भन्छिन्: ‍अनधिकृत संरचना हटाउने अभियानमा मेरो साथ सहयोग छ

काठमाडौं, १२ भदौ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरले चलाएको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना हटाउने अभियानमा आफ्नो समर्थन रहेको प्रतिक्रिया दिएकी छिन् ।

 

महानगरको उक्त अभियानमा उपमेयर डंगोल चुप बसेको प्रश्न उठ्न थालेपछि कानुन कार्यान्वय गर्ने सबै कार्यमा आफ्नो साथ, सहयोग र समर्थन रहेको स्पष्ट पारेकी हुन् ।

 

आज एक विज्ञप्ती जारी गर्दै उपमेयर डंगोेलले काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने आफ्नो एजेण्डा रहेको समेत स्मरण गराएकी छिन् ।

 

उनले वक्तव्यमा लेखेकी छिन्, ‘सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुँइतला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाई पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना) हटाउने कार्यलाई केही दिनदेखि काठमाडौँ महानगरपालिकाले निरन्तरता दिदैँ आएको विदितै छ ।

त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौँ महानगरपालिकाको हो । म काठमाडौँ महानगरपालिकाको उपमेयरको हैसियतमा छु । त्यसैले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु ।’

 

सम्बन्धित समाचार