अध्यक्ष ओली भन्छन् एमाले सरकार बनेपछि विकास र समृद्धिको अभियान ल्याउँछ

धनुषा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदाे चुनावपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । उहाँले नयाँ सरकार बनेपछि विकास र समृद्धिको अभियान ल्याउने बताउनुभएको छ ।

 

नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनको आज साेमवार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘मङ्सिर ४ गते हुने प्रतिनिधि सभा चुनावमा एमालेले अत्यधिक बहुमत ल्याउँछ, सरकार बनाउँछ ।’

 

एमाले सरकारमा जानका लागि नभइ देशलाई बरबादीबाट जोगाउन आफ्नो पार्टीले जित्नै पर्ने जिकिर गर्दै उहाँले नागरिककाे सद्भाव र एकताका लागि चुनावमा गएको बताउनुभयो । सबैले मिलेर सबैका लागि ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अठोटका साथ आफ्नो पार्टी चुनावमा जान लागेको उहाँको भनाइ छ ।

 

शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर सिर्जना गर्ने, कृषिको आधुनिकीकरण गर्नेजस्ता योजना एमालेले अघि सारेको उल्लेख गर्दै अध्यक्ष ओलीले आउँदाे चुनावले सही सरकार दिन नसके देश, लोकतन्त्र, विकासका लागि दुर्भाग्य हुने बताउनुभयो ।

 

उद्घाटन समारोहमा एमाले नेता अग्नि खरेल, विष्णु रिजाल लगायतले विकासका लागि एमालले चुनाव जित्नुपर्नेमा जोड दिनुभएको थियो । नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाएको छ । उज्यालो अनलाइन

 

सम्बन्धित समाचार