चुनाव नजिकिदै जाँदा नेकपा माओवादीद्वरा पर्सागढी नगरपालिकामा कार्यालय स्थापना 

 

राजन कुमार बानिया

वीरगन्ज,

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिदै जाँदा नेकपा माओवादी केन्द्र पर्सा चलायमान भएको छ । जिल्लाको विभिन्न क्षेत्रमा पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाटदेखि कार्यालय स्थापनासम्म हुन थालेको छ ।

यसैबीच पर्साको पर्सागढी नगरपालिकामा नेकपा माओवादी केन्द्रको नगर समितिको कार्यालय स्थापना गरिएको छ । कार्यालयको नेकपा माओवादी केन्द्र पर्सा निर्वाचन क्षेत्र नम्बर २ का इन्चार्ज अमिताभबच्चन दास, नेकपा माओवादी केन्द्रका जिल्ला नेता बालकृष्ण श्रेष्ठ र नगर कमिटि अध्यक्ष सोम बहादुर लामाले संयुक्त रुपमा उदघाटन गर्नुभयो ।

कार्यालय उदघाटनपछि बोल्दै क्षेत्र नम्बर २ का इन्चार्ज एवं युवा नेता अमिताभबच्चन दासले परिवर्तनको संवाहक नेकपा माओवादी केन्द्र नै भएको र नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक विकासमा परिवर्तन ल्याउन नीतिको नेतृत्व माओवादीले नगरेसम्म परिवर्तन असम्भव रहेको बताउनुभयो ।

उहाँले अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि दश बर्ष माओवादीले जनयुद्ध नगरेको भए सम्भव नभएको र स्थानीय सरकारको पाँचबर्ष जतिपनि राजा महाराजाहरु बन्ने अवसर पाए त्यो माओवादी आन्दोलनकै देन भएको बताउनुभयो ।

माओवादी केन्द्र पार्टीमा जनताको आकर्षण रहेपनि काम गर्ने भन्दा पद लिनेहरु धेरै हुँदा पार्टी चलायमान हुन नसकेको बताउनुभयो ।

अन्य पार्टीको भन्दा माओवादीको विचार र नीति जनताले अहिले विस्तारै बुझ्दै गएकोले फेरीपनि माओवादी केन्द्र एकपटक सरकारको नेतृत्व गर्ने तहमा पुग्नुपर्ने र जनतालेपनि भोट दिएर जिताउनुपर्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्र पर्सागढी नगरपालिकाका नगर अध्यक्ष सोम लामाको अध्यक्षतामा भएको कार्यक्रममा युवा नेता बालकृष्ण श्रेष्ठ लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार