जापान कन्सर्टमा भिटेनको तमासा : टाउकोमा बोतल फुटाएर मञ्चमै ढले भिटेन ।

 

काठमाडौं – सांगीतिक टूरको सिलसिलामा जापानमा रहेका र्‍यापर भिटेन सहित आइतबार बेलुका राजधानी टोकियोमा नेपाली समुदायले कन्सर्ट आयोजना गरेको थियो ।

जहाँ भिटेन आफ्नो गायकीभन्दा पनि आफ्नो हर्कतको कारणले चर्चामा आए । कन्सर्टमा गीत गाउँदा गाउँदै उनले अस्वभाविक व्यवहार देखाउन थालेपछि उनलाई संयमित तुल्याउन आयोजकलाई हम्मे-हम्मे परेको थियो।

गीत गाउँदा गाउँदै र्‍यापर भिटेनले आफ्नै टाउकोमा बोतलले हिर्काए, र उनी एक्कासी मञ्चमा ढले त्यसपछि गीत गाएनन् । भुइँमै ढलेपछि दर्शकले उनको पक्षमा हुटिङ गरे । तर, आयोजकले पानी छम्किएर केही बेरमा उठाए । अनि त्यसपछि भिटेनले कन्सर्टमा गाउन नसक्ने बताए ।

दर्शकले होहल्ला गर्न थालेपछि उनले आइन्दा शोज नगर्ने र यही नै अन्तिम हुने पनि बताएका थिए । तर, भिटेनले एक्कासी किन यस्तो हर्कत गरे र स्टेजमा बेहोस् भए भन्नेबारेमा दर्शक र आयोजकको आफ्नै तर्क छन् ।

मदिराले लठ्ठिएर भिटेनले त्यस्तो हर्कत देखाएको त्यहाँ पुगेका दर्शक बताउँछन् । अर्कोतर्फ, आयोजक चाहिँ मदिराको कारण भिटेन बेहोस् नभएको दावी गर्छ । मदिराकै कारण उनी ढलेका हुन् वा स्वास्थ्यको कारण भन्ने कुरामा मतैक्य छैन ।

यद्यपी, बेहोस भएपछि उठेका उनले शारीरिक असन्तुलनको कारणले आफू ढलेको दावी गरेका छन् । भिटेनले गाउन छाडेपछि आयोजकले उनलाई स्टेज पछाडि लगेका थिए ।

त्यसपछि स्थानीय कलाकार र डिजेले दर्शकलाई मनोरञ्जन दिएका थिए । मध्यपूर्वपछि भिटेन यतिबेला टूरको सिलसिलामा जापानमा छन् ।

 

सम्बन्धित समाचार