प्रकाशमान सिंह भन्छन् प्रधानमन्त्रीकाे अफर आयाे भने देश हाक्छु

 

काठमाण्डाै – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बन्ने अफर आएमा पछि नहट्ने बताउनु भएकाे छ । काठमाण्डाै निर्वाचन क्षेत्र नम्बर १ मा विजयी बन्नुभएका नेता सिंहले शुभकामना आदानप्रदानका क्रममा आफू हरेक कोणबाट प्रधानमन्त्रीका लागि योग्य रहेको दाबी गर्नुभएकाे हाे ।

 

नता सिंहले देशभरबाट जितेर आएका कांग्रेस नेताहरुसँग सल्लाह लिएर आफू अघि बढ्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘नयाँ संविधान जारी गरिसकेपछिको प्रथम आम चुनावमा पनि म नेपाली कांग्रेसको संसदीय दलको नेताको लागि प्रतिस्पर्धा गरेकै हो । देशभरबाट कांग्रेसको सांसद जितेर आएकाहरुको छलफल हुन्छ । संसदीय दलको नेताको लागि छान्न प्रक्रिया अगाडि जान्छ । सबै साथीहरुसँग सल्लाह गरेर गर्ने कुरा हो । परिस्थिति फरक भइरहेको छ । प्रधानमन्त्रीको लागि म योग्य छु, अवसर पाएमा च्यालेन्ज मिट गर्नको लागि पछि हट्ने कुरा आउँदैन ।’

 

सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएका कांग्रेस नेता सिंह काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर १ बाट १२५ मतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई पछि पार्दै विजयी हुनुभएको हो । नेता सिंहले ७ हजार १४३ मत ल्याउँदा प्रतिस्पर्धी मिश्रले ७ हजार १८ मत ल्याउनु भयाे ।

 

साथै उहाँले आम मतदाताहरुका लागि जनप्रतिनिधिहरुसँग गुनासो पोख्ने, सुझाव दिन पाउने गरी गुनसो सुन्ने काममा आफू निरन्तर लाग्ने बताउनु भयो । उहाँले खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर १ मा छिटो ल्याउनका पहल गर्ने बताउनु भयो । उज्यालो अनलाइन बाट

सम्बन्धित समाचार